कारोबार


गभर्नर नियुक्तिको विषयमा निजी क्षेत्रको चासो

गभर्नर नियुक्तिको विषयमा निजी क्षेत्रको चासो

नेपालखबर
चैत २०, २०८१ बुधबार २०:२४, विराटनगर

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रियामा निजी क्षेत्रले चासो देखाएको  छ।     

उद्योग सङ्गठन मोरङले समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गतिलाई तीव्र बनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र बैङ्कले पाउने सङ्गठनले अपेक्षा लिएको जनाएको छ।  

एक विज्ञप्ति जारी गर्दै  सङ्गठनले विगत केही वर्ष देखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदासीनतालाई मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दरको निर्धारण, वित्तीय स्थिरता जस्ता विषयलाई ध्यान दिइनु पर्ने उल्लेख गरेको छ। 

‘औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्छ’, उद्योग सङ्गठनले भनेको छ,‘विगतमा राष्ट्र बैङ्कले लिएको कहिले अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्र  प्रभावित भएको अनुभव निजी क्षेत्रले भोगेको छ।’

सङ्गठनका अध्यक्ष राकेश सुरानाले नेपाल राष्ट्र बैङ्क नेपाल सरकार कै आर्थिक सल्लाहकारका रूपमा रहने भएको हुँदा अर्थतन्त्रको वर्तमान जटिल समस्याहरूलाई सम्बोधन गर्दै स्वदेशी उद्योगहरूलाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन उद्योग व्यापारमैत्री नीति निर्माणको वातावरण बनाउन  सक्ने नेतृत्वको माग गरिएको बताए। 

उनले सक्षम, नेपालको मौद्रिक नीति र बैङ्किङ प्रणालीलाई सुदृढ बनाई लगानी प्रवाह बढाउन सक्ने र आर्थिक वृद्धिको नयाँ अवसरहरू सिर्जना गरी अर्थतन्त्रलाई एक स्थिर र सशक्त दिशा दिई जनताको आशा लिइएको उल्लेख गरे।  

उनले भने,‘निजी क्षेत्रले नयाँ गभर्नर नियुक्ति गर्दा देशको आर्थिक अवस्थामा सुधार ल्याउने, व्यवसायीक विकासको गति तीव्र बनाउन र दीगो समृद्धि सुनिश्चित गर्न नेपालका उद्योग र व्यापारका जटिलताहरूलाई राम्रोसँग बुझेको योग्य नेतृत्व छान्न सक्नुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad