सूर्य नेपाल प्रालिले काठमाडौँमा पहिलो पटक प्लास्टिक सडक निर्माणको पहल गर्दै कान्तिपथमा प्लास्टिक मिश्रित अस्फाल्ट सडक कालोपत्रे गरेको छ।
यो परियोजना नेपाल सरकारको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्र र ग्रिन रोड नामक संस्थासँगको सहकार्यमा सम्पन्न भएको कम्पनीले जनाएको छ।
सूर्य नेपालको सामाजिक उत्तरदायित्वअन्तर्गत सुरू भएको यो अनुसन्धान परियोजनाले भविष्यमा प्लास्टिकबाट बनाइने सडकहरूको मापदण्ड सेट गर्न गुणस्तर अनुसन्धान विकास केन्द्र, सम्बन्धित संस्थाहरु र अनुसन्धानकर्ताहरुलाई महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यस अनुसन्धानका आधारमा, यदि यो प्रयोग सफल भई मापदण्ड बनेमा नेपालमा पनि प्लास्टिकबाट निर्मित सडकहरूको निर्माणको लागि बाटो खुल्नेछ।
विभिन्न अनुसन्धानहरुले प्लास्टिक मिश्रित अस्फल्ट सडकहरु परम्परागत सडकहरुभन्दा अधिक टिकाउ, कम खर्चिलो र पर्यावरणमैत्री हुने देखाएको छ। भारत लागायत मुलुकमा यस सम्बन्धि मापदण्ड रहेकोले प्लास्टिक मिश्रित सडक निर्माण भइरहेका छन्।

यो नयाँ पहल सफल भएमा नेपालको सडक निर्माण प्रविधिमा ठुलो परिवर्तन ल्याउने विश्वास गरिएको छ, जसले प्लास्टिकको पुन: उपयोग, बिटुमिन आयातमा कमी र पर्यावरणीय उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।


Shares

प्रतिक्रिया