अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र बनाएको छ। हालसम्म १६ वटा मन्त्रालयसँग छलफल गरेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
बिहीबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालसँग अर्थले छलफल गरेको हो। मन्त्रालयहरुसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
उनले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाहरुको हस्तान्तरण, तीन तहका सरकारबीचको समन्वय र साझेदारीलाई जोड दिएको उनको सचिवालयले उल्लेख गरेको हो।
प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्दा संघीयता बलियो नहुने उनको भनाइ छ। अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाहरुको समीक्षा गरी संघीय योजनाहरुमा केन्द्रित हुन, कार्यक्रम तथा योजनाहरु रोक्न, घटाउन, समायोजन गर्न, अत्यावशक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समय अनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम तथा योजनाहरु समावेश गर्न सुझाएका छन्।
उनले तीन करोड रुपैयाँ भन्दा कमका आयोजनाहरु समावेश नगर्न पनि अनुरोध गरेका छन्। यसैगरी अर्थमन्त्री पौडेले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकीकरण गर्न पनि जोड दिएका छन्। कार्यक्रम तथा योजनाहरु पेस गर्दा रकमान्तर र शोधनान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव पेस गर्न पनि आग्रह गरेको छ।
उपलब्ध साधन स्रोतलाई ख्याल गर्दै जनताको आंकाक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको भनाइ छ।
दुई दिनअघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरुसँग छलफल गरी बजेट विनियोजना साथै पुँजीगत खर्चमा पनि विशेष ध्यान दिन आग्रह गरेको थियो। अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गर्दै आएको छ।
तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने अर्थ मन्त्रालयको भनाइ छ। अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, संघीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरेको थियो।
आगामी बजेटबारे बाँकी मन्त्रालयहरुसँग पनि छलफल गर्ने अर्थ मन्त्रालयको कार्यक्रम छ।
Shares

प्रतिक्रिया