उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिपक्षीय समन्वयमा नयाँ बजेट तर्जुमा गरिने बताएका छन्।
आइतबार आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे गृह मन्त्रालयसँग भएको छलफलमा मन्त्री पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा आगामी वर्षको बजेट ल्याउने बताएका हुन्।
सो क्रममा पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताए।
छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखा परेका चुनौती तथा समस्याहरुलाई समाधान गरेर अघि बढ्न सकिने अर्थमन्त्रीको भनाइ छ।
उनले नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय हुनुपर्नेमा जोड दिए। उपलब्ध साधन स्रोतलाई ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेस गर्न उनको आग्रह छ।
गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत उपस्थित थिए।
Shares

प्रतिक्रिया