नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पटक पटक स्पष्टीकरण सोधेको भन्दै कर्मचारी संगठनहरुले विरोध गरेका छन्।
कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनका अध्यक्षद्वय श्रीप्रसाद आचार्य र रामेश्वर प्रसाद पौडेलले सरकारले आम कर्मचारीको मनोबल कमजोर पारेको आरोप लगाएका हुन्।
पछिल्लो समय ऊर्जामन्त्री दीपक खड्काले घिसिङसँग पटक पटक मन्त्रालयबाट स्पष्टीकरण सोधिसकेका छन् भने मन्त्रिपरिषद्बाट समेत स्पष्टीकरण माग्ने निर्णय गराएका छन्।
‘पटक–पटक स्पष्टीकरण सोधेर उज्यालो नेपाल–समृद्ध नेपालको अभियानमा अवरोध सृजना भईरहको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निरन्तर नाफामा गइरहेको संस्थामा विधि, प्रक्रिया, स्थापित मान्यता र सिद्धान्त विपरित कर्मचारी सेवा सर्त विनियमावली संशोधन गर्दै सामान्य सरुवा, कार्यसम्पादन मूल्यांकन जस्ता अधिकारहरू सञ्चालक समितिमा केन्द्रित गरी संस्थामाथि राजनीतिक हस्तक्षेप बढाउने साथै मन्त्रालयबाट कर्मचारीहरुको नामै किटान गरी सरुवा गर्नु भन्ने निर्देशन दिने जस्तो कार्यलाई समर्थन नगरेको आधारमा संस्था प्रमुखलाई हतोत्साहित गर्ने काम गरिएको भन्दै आपत्ति जनाइएको छ।
सरकारका नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्दै सिंगो नेपाललाई उज्यालो नेपाल समृद्ध नेपाल बनाउने अभियानमा अहोरात्र खटिने विद्युत प्राधिकरणको नेतृत्व र प्राधिकरण अन्तर्गतका आम कर्मचारीहरूलाई हतोत्साहित गर्नुले “राम्रो काम गर्ने मान्छेहरुलाई नेपालमा टिक्न दिँदैनन् भन्ने नकारात्मक विचारलाई थप प्रोत्साहन गरेको छ भने नेपालमा केही गर्नुपर्छ र नेपाल नेपालीले नै बनाउन सकिन्छ” भन्ने विचार राखी अहोरात्र मेहनत गर्ने प्रवृत्तिमाथि धावा बोलेको उनीहरुको भनाइ छ।
त्यस्तै सरकार र सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूबाटै हुने यस्तो किसिमको गतिविधिले सरकारले राखेको “सुखी नेपाली, समृद्ध नेपाल” को लक्ष्य पुरा हुनेमा संशय उत्पन्न हुने विज्ञप्तिमा उल्लेख छ।
‘तसर्थ यसतर्फ सचेत बन्दै प्राधिकरणजस्तो संस्थामा लामो समयदेखि सञ्चालक समितिको बैठक नबसी संस्थाको नियमित काम कारबाही प्रभावित हुने, कर्मचारीको वृत्ति विकास अवरुद्ध हुनुका साथै देशको ऊर्जा क्षेत्रको विकाससँग सम्बन्धित विषयहरुमा अनिर्णयको बन्दी हुने अवस्थाको अन्त्य गर्न सरकारले कार्यकारी निर्देशकलाई मन्त्रीपरिषद्बाट सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त भएपश्चात उनलाई स्वतन्त्र ढंगले नेपाल सरकारका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै विद्युत प्राधिकरणलाई निरन्तर अगाडि लाने र देशको उर्जा क्षेत्रको विकास गर्दै उज्यालो नेपाल–समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अझ दत्त चित्तका साथ खट्न र अझ बढी मेहनतका साथ काम गर्न निर्देशन दिनेछ भन्ने विश्वास लिएका छौँ’, विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया