कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मल कारखानका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। उनले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको स्पष्ट पारे।
उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ को बजेटमा बुँदा नम्बर ८९ मा स्वदेशमै रासायिनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी लगानीमा लगानी बोर्डमार्फत काम अघि बढाइने छ भनी उल्लेख थियो। तथापी ८१/८२ को बजेटमा यो समबन्धी विषय उल्लेख भएको छैन। साथै चालु आर्थिक वर्ष ०८१/८२ मा समेत मल कारखान स्थापनाका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कुनै बजेट विनियोजन भएको छैन।’
मन्त्री अधिकारीले मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने बताए। लगानी, पूर्वाधार विकास र बजार व्यवस्थापन लगायतका विषयमा सम्बन्धित निकाय तथा विदेशी संस्थामार्फत अध्ययन भइरहेको उनको भनाइ छ।
मन्त्री अधिकारीले विक्रम संवत २०७२ मा जाइकाले ७२ अर्ब लगानी गरी वार्षिक ७ लाख मेट्रिक टन मल उत्पादन हुने भन्ने पूर्व सम्भाव्यता अध्ययन गरिएको बताए। चालु आर्थिक वर्षमा ग्लोबल ग्रिन ग्रोथ इस्न्टिच्युट जिजिजी र काठमाडौँ विश्वाविद्यालयले ग्रिन युरियाको कारखाना स्थापना गर्न सकिने सम्बन्धमा अध्ययन भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया