कारोबार


मौद्रिक समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंकमा बोर्ड बैठक

मौद्रिक समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंकमा बोर्ड बैठक

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १३:४२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आजै सार्वजनिक गर्दै छ। बैंकले मंगलबार साँझ समीक्षा सार्वजनिक गर्नका लागि बोर्ड बैठक बसिरहेको हो। 

गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समीक्षा भएका कारण पनि यस पटकको समीक्षालाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।

पहिलो त्रैमासिक समीक्षा गर्दा नीतिगत फेरबदल नगरी मौद्रिक नीतिलाई नै निरन्तरता दिएका गभर्नर अधिकारीले दोस्रो त्रैमासिकमा पनि सोहीअनुसार तयारी गरेका छन्।

दोस्रो त्रैमासिकमा आइपुग्दा उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशतमा छ भने आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति पनि २ खर्ब ४९ अर्बले बचतमा रहँदा विदेशी विनिमय सञ्चिति पनि २३ खर्ब १६ अर्ब पुगिसकेको छ। 

यस्तै ब्याजदर न्यूनतम सीमामा आइसक्दा पछिल्लो दुई महिनामा कर्जा प्रवाह पनि बढेको छ। पुस मसान्तसम्म ५.२ प्रतिशतले कर्जा बढ्दा ३.७ प्रतिशतले निक्षेप बढेको छ। मौद्रिक नीतिले चालू आवमा १२.५ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य राखेकोमा चालू आवको ६ महिनामा यस्तो वृद्धि ५.२ प्रतिशत पुगेको छ।

समग्रमा हेर्दा तथ्यांकमा ठूलो परिवर्तन देखिँदैन। मुद्रास्फीतिको वृद्धि भने राष्ट्र बैंकको अनुमानभन्दा बाहिर गएको देखिन्छ। पुस मसान्तसम्म वार्षिक मुद्रास्फीति ५.४१ प्रतिशत पुगिसकेको छ।

चालू आवको मौद्रिक नीतिले मुद्रास्फीति ५ प्रतिशतमा राख्ने लक्ष्यसहित नीतिगत दरलाई ५ प्रतिशतमा राखेको थियो। राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति समीक्षा साँझ ५ बजेपछि सार्वजनिक गरिने तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad