कारोबार


यूएसएडले गरेका खर्चको विवरण सार्वजनिक गर्न संसदीय समितिमा उठ्यो माग

यूएसएडले गरेका खर्चको विवरण सार्वजनिक गर्न संसदीय समितिमा उठ्यो माग

अर्थ समिति बैठक (रासस)


नेपालखबर
फागुन ११, २०८१ आइतबार १४:२६, काठमाडौँ

 प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड)मार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन्। 

अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका हुन्। 

“युएसएडमार्फत नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भन्नुभएको छ । अनौपचारिक रुपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको भन्ने जानकारी पाएको छ । यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भनिन्।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भनेको हो बुझ्नुपर्ने बताए। उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई सबै दलले संसद्बाट पारित गरेको विषय पनि उठाए। अर्थ समितिमा छलफलको क्रममा रहेका विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गोमा पुर्‍याउनुपर्ने पनि उनको भनाइ छ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभइ संसद्मा छलफल गरिनुपर्ने बताए।

“ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन । यो समिति भन्दा पनि संसद्को विषय हो”, उनले भने, “युएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रलयसँग विवरण माग गर्न सकिन्छ । यसबारे लिखित पत्राचार गरौँं र मन्त्रालयसँग विवरण मागौँं ।” 

त्यस्तै, अर्थ समितिको बैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको, कार्यसूचीभन्दा बाहिरका विषयमा बढी छलफल हुने गरेको तथा समितिका कामको प्रभावकारिता न्यून देखिएको विषय पनि उनले उठाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad