कारोबार


अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

नेपालखबर
फागुन ७, २०८१ बुधबार १६:१०, म्याग्दी

धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे।

गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो।  जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।

‘विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ’, उनले भने, ‘विसं २०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तिव्रता दिएका छौँ।’

विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए। पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए।
 
सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजारको लागतमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ। भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव शुन्य एक गिगावाट घण्टा विद्युत् केन्द्रिय लाइनमा जोडिनेछ।

बाँध निर्माण स्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ। हालसम्म १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ। ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ। आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ।

ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ। अपर म्याग्दी–१ को प्रवद्र्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ।
 
भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको रु छ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म रु एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad