कारोबार


यी २० वस्तुको आयात घट्दा पुगेन राजस्व लक्ष्य, ७ महिनामा उठ्यो ४५ प्रतिशत

कुन क्षेत्रबाट कति उठ्यो कर?
यी २० वस्तुको आयात घट्दा पुगेन राजस्व लक्ष्य, ७ महिनामा उठ्यो ४५ प्रतिशत

नेपालखबर
फागुन १, २०८१ बिहिबार ७:४३, काठमाडौँ

सरकारले चालू आर्थिक वर्षको ७ महिनामा लक्ष्यको करिब ४५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।

अर्थ मन्त्रालयले मुख्य २० वस्तुको आयातसँगै आर्थिक गतिविधि नबढ्दा राजस्व संकलन लक्ष्य पूरा नभएको बताएको हो।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा राजस्वमा प्रमुख योगदान गर्ने डिजेल, जुत्ता चप्पल, फलामे पत्र, टायल, सुर्ती, लेख्ने छाप्ने कागज, एमएस बिलेट, ग्यास लाइटर, सुकुमेल, कच्चा पाम तेल, विटुमिन, स्याउ, नासपाती र फलफूल, मार्बल स्लाव, आल्मुनियमको तार, वाइन, भटमासको कच्चा तेल, एच.आर. सिटलगायतका प्रमुख २० वस्तुहरूबाट न्यून राजस्व संकलन भएको छ। 

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनभन्दा न्यून पैठारी महसुल दर भएका विद्युतीय सवारीसाधनको पैठारी बढ्दा तुलनात्मक रुपमा राजस्व संकलन घट्नु रहेको मन्त्रालयको निष्कर्ष छ।

उद्योग, व्यापार, घरजग्गा कारोबार, सेयर कारोबारलगायतका आर्थिक कारोबारमा अपेक्षाकृत वृद्धि हुन नसकेको अर्थ मन्त्रालयको निष्कर्ष छ।

कार्यालयको कर निर्धारणविरुद्ध करदाता सोझै रिटको माध्यमबाट अदालतमा पुनरावेदन जाने प्रवृत्ति बढ्न गई निर्धारित कर रकम समयमा दाखिला हुन नसक्दा कम उठेको मन्त्रालयको तर्क छ।

‘बैंकहरूमा तरलता बढ्दै गएअनुरूप लगानी बढ्न नसक्नु, बैंक ब्याजको औसत दर निरन्तर घट्दै जानु, पछिल्लो समयमा सहकारी संस्थाहरूमा देखिएको समस्याका कारण सहकारी संस्थाहरूको कर योगदान घटेको छ’, मन्त्रालयको निष्कर्ष छ।

अर्थतन्त्रमा निर्माण क्षेत्रको योगदान न्यून रहेको कारण सिमेन्ट, डण्डीलगायतका निर्माण सामग्रीहरूको बिक्री कारोबारमा कमी आउनु, दूर सञ्चार सेवाको बिक्रीमा ह्रास आउनु, अन्तःशुल्कजन्य वस्तुहरूको उत्पादन योगदान कमजोर रहनु, नक्कली बीजकको प्रयोग तथा सीमा क्षेत्रको चोरी पैठारी नियन्त्रण प्रभावकारी हुन नसक्नुजस्ता कारणले लक्ष्यअनुसार कर उठ्न नसकेको अर्थ मन्त्रालयको भनाइ छ। 

‘आर्थिक ऐन तथा भन्सार महसुल ऐनबाट दिइएको राजस्व छुटको दायरा वर्षेनी बढ्दै गएको कारण राजस्व संकलनमा प्रतिकूल प्रभाव परेको छ’, समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘खुला सीमा व्यवस्थापन र आन्तरिक बजार अनुगमन अपेक्षाकृत प्रभावकारी हुन नसकेको कारण चोरी पैठारी नियन्त्रण प्रभावकारी हुन नसक्नुजस्ता कारणले भन्सारतर्फको राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको देखिन्छ।’

माघसम्म सरकारले ६ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गर्दा ७ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको छ।

चालू आर्थिक वर्ष (२०८१/८२) मा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख राजस्व संकलन हुने सरकारको अनुमान छ।

कुल अनुमानित राजस्वमध्ये संघीय सरकारको बजेट प्रयोजनका लागि १२ खर्ब ६० अर्ब ३० करोड ३० लाख प्रयोग हुने र बाँकी १ खर्ब ५९ अर्ब ९० करोड राजस्व बाँडफाँटको माध्यमबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुमान छ।

सरकारको राजस्व संकलन गत वर्षको तुलनामा बढी भए पनि लक्ष्यको करिब १० प्रतिशतले कम हो।

६ महिनामा भन्सार विभागतर्फ २ खर्ब ८० अर्ब ३९ करोड ३५ लाख, आन्तरिक राजस्व विभागतर्फ ३ खर्ब २२ अर्ब ३० करोड ८९ लाख र अन्य राजस्वतर्फ ७० अर्ब १० करोड ७० लाख राजस्व प्राप्तिको अनुमान थियो।

पुससम्म मन्त्रालयले भन्सारबाट २ खर्ब २० अर्ब ३ करोड ७० लाख, आन्तरिक राजस्व विभागबाट २ खर्ब ६९ अर्ब ३६ करोड २२ लाख र अन्य राजस्वबाट ७० अर्ब २० करोड ८२ लाख राजस्व संकलन गरेको छ। 

कुन क्षेत्रबाट कति उठ्यो कर?
आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा आयकरतर्फ १ खर्ब ४१ अर्ब ९३ करोड ८३ लाख सङ्कलन भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.३३ प्रतिशतले बढी हो।

आयकरअन्तर्गत संस्थागत आयकरतर्फ ६० अर्ब ८३ करोड १४ लाख, व्यक्तिगत आयकरतर्फ ५० अर्ब ९९ करोड ७५ लाख र लगानीको आयकरतर्फ २७ अर्ब ३७ करोड ७४ लाख संकलन भएको छ। 

गत आर्थिक वर्षको यसै अवधिको सङ्कलनको तुलनामा संस्थागत आयकरतर्फको वृद्धि ११.९० प्रतिशतले ऋणात्मक छ भने व्यक्तिगत आयकरतर्फ २१.१८ प्रतिशत र लगानीको आयकरतर्फ १०.७४ प्रतिशतले सकारात्मक छ।

मूल्यअभिवृद्धि कर (भ्याट)बापत १ खर्ब ५४ अर्ब ८४ करोड ८६ लाख संकलन भएकोमा आन्तरिकतर्फ ६४ अर्ब ७५ करोड ११ लाख र पैठारीतर्फ ९० अर्ब ९ करोड ७५ लाख संकलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा उक्त संकलन आन्तरिकतर्फ १६.९० प्रतिशतले र पैठारीतर्फ ४.७३ प्रतिशतले बढी छ।

आन्तरिकतर्फ सञ्चार सेवा, बीमा, हवाइ उडान र अन्य सेवा संकलनमा ६३.१९ प्रतिशत, पर्यटन सेवा संकलनमा ४२.३५ प्रतिशत, वस्तु बिक्री र वितरणमा १३.८० प्रतिशत, उत्पादनमा १०.५१ प्रतिशत र बाँडफाँट हुनेबाहेक अन्य स्रोतबाट प्राप्त मूल्यअभिवृद्धि कर ५.०२ प्रतिशतले वृद्धि भएको छ भने परामर्श तथा ठेक्काबाट संकलन हुने मूल्यअभिवृद्धि कर ३.४३ प्रतिशत र बेदर्तावालबाट संकलन गर्ने मूल्यअभिवृद्धि करमा १.७२ प्रतिशतले कमी आएको छ।

पुससम्म आन्तरिक उत्पादनतर्फ ६० अर्ब ८२ करोड ३१ लाख र पैठारीतर्फ २२ अर्ब ५६ करोड ५४ लाख गरी अन्तःशुल्कतर्फ कुल ८३ अर्ब ३८ करोड ८५ लाख राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा आन्तरिकतर्फको अन्तःशुल्कमा २०.८६ प्रतिशत र पैठारीतर्फको अन्तःशुल्कमा २३.०३ प्रतिशतले वृद्धि भएको छ।

भन्सार महसुलतर्फ १ खर्ब ७ अर्ब ३७ करोड ४१ लाख संकलन भएको छ। यो रकम गत आर्थिक वर्षको यसै अवधिमा संकलित ९५ अर्ब ८३ करोड ३२ लाखको तुलनामा १२.०४ प्रतिशतले बढी हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad