कारोबार


कोसेली र मायाको चिनो ‘तेह्रथुमे ढाका’

कोसेली र मायाको चिनो ‘तेह्रथुमे ढाका’

नेपालखबर
माघ २६, २०८१ शनिबार ६:३०, तेह्रथुमे

देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ रतनपुरकी लक्ष्मी लिम्बूले विदेशमा रहेका आफ्ना आफन्तलाई हातले बुनेका तेह्रथुमे ढाका कपडाका सामान कोसेलीको रूपमा पठाउने गरेको बताइन्।

बेलायतमा रहेका नन्द र हङकङमा रहेकी बहिनीले विशेषगरी चाडपर्वको समयमा ढाकाको कपडाको माग गर्ने भएकाले कोसेलीस्वरूप पठाउने गरेको उनले सुनाइन्। तेह्रथुमे ढाका कपडाबाट बनेका साडी, चोली, कोट, लिम्बू जातिको जातीय पहिरन मेख्लीजस्ता सामग्री आफन्तलाई कोसेलीको रूपमा पठाउने गरेको लक्ष्मीले सुनाइन्।

जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमासमेत अतिथि र आमन्त्रितलाई मायाको चिनोको रूपमा ढाकाकै सामग्री दिने प्रचलन बढेको छ। तेह्रथुमे ढाका कपडाबाट बनेका पछ्यौरा, टोपी, रूमाल, पर्सजस्ता सामग्री कार्यक्रममा मायाको चिनोको रूपमा प्रयोग हुने गरेको नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले बताए।

तानको सहायतामा हातले बुनेर तयार गरिने तेह्रथुमे ढाका कपडा स्वदेशमा मात्र होइन विदेशमा पनि प्रसिद्ध छ । नेपाली रहेबसेका विभिन्न मुलुकबाटसमेत तेह्रथुमे ढाका कपडाको माग आउने गरेको सदरमुकाम म्याङलुङमा तेह्रथुमे ढाका कपडाको व्यवसाय गर्दे आएकी शोभा दाहालले बताइन्।

तेह्रथुमे ढाका कपडाबाट साडी चोली, मेख्ली, कुर्ता सुरूवाल, पछ्यौरा, कोट, टोपी, मखलर, रूमाल, पर्स, जुत्ता, चप्पलजस्ता सामग्री बनाइन्छ । सदरमुकाम म्याङलुङमा मात्रै आधा दर्जन भन्दाबढी ढाकाकपडाका पसल सञ्चालनमा छन्।

तेह्रथुम उद्योग वाणिज्य स्ङ्घका अध्यक्ष राजिव ढुङ्गानाका अनुसार वार्षिक करोड भन्दा बढीको ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गर्छ । उनका अनुसार कोरोना महामारीबाट सिर्जित आर्थिक मन्दिपछि घटेको ढाका कपडाको कारोबार अहिले बिस्तारै उकालो लागेको हो। 

सदरमुकाम म्याङलुङ र आसपासका गाउँका पाँच हजारभन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ । परम्परागत रूपमा खाडीको कपडा बुन्ने गरेका तेह्रथुमका महिलालाई सन् १९८३ ताका ढाकाबारे अध्ययन गर्न तेह्रथुम आएकी बेलायती नागरिक सुसी डान्समोरले धागोको रङ छनोट र आकर्षक बुट्टा बनाउनेसम्बन्धी सीप सिकाएपछि तेह्रथुमे ढाकाले व्यावसायिक मोड लिएको बताइन्छ। 
    
तेह्रथुमे ढाकाको प्रवर्द्धनका निम्ति तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिएको छ। त्यस्तै ढाका बुनकरहरूको सम्मानस्वरूप सदरमुकाम म्याङलुङमा कोशी प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको साझेदारीमा ढाका बुनिरहेको महिलाको स्तम्भसमेत निर्माण गरिएको म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad