कारोबार


राष्ट्र बैंकले भन्यो– केबलकारलाई जोडेर बैंकप्रति आक्रमण हुनु गलत

‘कसैको उक्साहटमा उच्छृंखल गतिविधिमा संलग्न नहुनू’
राष्ट्र बैंकले भन्यो– केबलकारलाई जोडेर बैंकप्रति आक्रमण हुनु गलत

नेपालखबर
माघ २४, २०८१ बिहिबार १२:६, काठमाडौँ

राष्ट्र बैंकले पाथीभरा केबलकारलाई जोडेर ग्लोबल आईएमई बैंकप्रति आक्रमण हुनु गलत रहेको बताएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेलले कुनै समूह नै लागेर बैंकप्रति प्रहार गरिनु गलत भएको बताएका हुन्।

पाथीभरा केबलकार निर्माणको विरोध गर्नेले ग्लोबल आईएमई बैंक बाइकट अभियान चलाउन खोजेपछि राष्ट्र बैंकले उच्छृंखल गतिविधिमा संलग्न नहुन आग्रह समेत गरेको छ।

व्यवसायी चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले पाथीभरामा केबलकार बनाउने योजना अघि सारेपछि विरोधमा उर्लिएका केही आन्दोलनकारी ग्लोबल आइएमई बैंकविरुद्ध उत्रिएका छन्।

ग्लोबल आईएमई बैंकको अध्यक्ष पनि ढकाल भएकाले केबलकार विरोधकर्ताहरुले निरन्तर बैंकविरुद्ध अफवाहहरु फैलाउँदै आएका छन्। 

सामाजिक सञ्जालहरुमा ‘बैंक डुब्दै छ, निक्षेप झिकौँ’ भन्ने अफवाह फैलिएपछि राष्ट्र बैंकले गलत गतिविधि भएको जनाएको छ। 

पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाथिभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त (क) वर्गको वाणिज्य बैंक ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृंखल गतिविधिमा संलग्न नहुँदा राम्रो।’ 

राष्ट्र बैंकका अधिकारीहरुले बैंकमा कुनै एक व्यक्ति वा संस्थाको सेयर स्वामित्व कम हुने भएकाले कुनै अप्ठ्यारो अवस्था आउँदा बढी प्रभावित बचतकर्ता नै हुने बताएका छन्। यसअघि पनि एनआईसी एसिया बैंकविरुद्ध यस्तै अफवाह फैलाएपछि राष्ट्र बैंकले त्यसो नगर्न अग्रह गरेको थियो। 

ग्लोबल आईएमई बैंकका एक अधिकारी पनि पछिल्लो समय पाथीभरा केबलकारलाई लिएर विरोध समूहले बैंकविरुद्धका गतिविधि गर्न थाल्नु गलत भएको बताउँछन्। यद्यपि विरोधस्वरूप चलाइएका हल्लाजस्तो बैंकको अवस्था नभएको भन्दै त्यसले बैंकलाई असर नगर्ने उनले बताए। 

उनले भने, ‘सामाजिक सञ्जालमा आए पनि त्यसले बैंकलाई असर गर्दैन तर बैंकप्रति भएका यस्ता नकारात्मक गतिविधि सामान्य मान्न सकिँदैन।’ 

कमजोर छैन वित्तीय सूचक  
नेपालका वाणिज्य बैंकहरुमध्ये पुँजीका आधारमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा रहँदै आएको छ। 

बैंकको पुँजी ६४ अर्ब २७ करोड रुपैयाँ छ भने चुक्तापुँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। पुँजीगत हिसाबमा वाणिज्य बैंक सबैभन्दा ठूलो बैंक हो।

मंसिर मसान्तसम्म बैंकमा सर्वसाधारणको निक्षेप ५ खर्ब २८ अर्ब रुपैयाँ छ भने कर्जा लगानी ४ खर्ब २६ अर्ब रुपैयाँ छ। 

बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३ अर्बमाथिको नाफा गरेको छ। यो नाफा गत वर्षको तुलनामा ४९.५१ प्रतिशत बढी हो। 

नाफाका आधारमा ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा छ। यस हिसाबमा बैंकलाई लिएर सामाजिक सञ्जालमा फैलिएजस्तो अवस्थामा बैंक नभएको वित्तीय सूचकले देखाउँछ। 

नियमन विभाग प्रमुख पौडेल कुनै आयोजनालाई लिएर बैंकमाथि खनिनु र बारम्बार आक्रमणमा उत्रनु गलत भएको बताउँछन्। बैंकको वित्तीय अवस्था राम्रो भएकै अवस्थामा बैंकप्रति हुने आक्रामण अमान्य भएको उनले बताए। यस्ता विषय संवेदनशील भएको बताउँदै उच्छृंखल गतिविधि हुन नहुने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad