कारोबार


चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

नेपालखबर
माघ २३, २०८१ बुधबार १८:४५, विराटनगर

प्रधानमन्त्री केपी शर्मा ओलीले चिया क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल काम थाल्ने प्रतिबद्धता जनाएका छन्। 

चिया उद्योगी, चिया मजदुर, चिया व्यापारीलगायत चिया क्षेत्रसँगको छलफलमा  प्रधानमन्त्रीले भारतसँग चिया निर्यातका विषयमा आफूले कुरा गर्ने बताएका हुन्। भारतीय चिया अक्सन (लिलामी) बजारमा अनिवार्य रूपमा नेपाली चिया राखेपछि मात्रै निर्यात गर्न पाउने तयारी भएपछि चिया क्षेत्रका सरोकारवालाले प्रधानमन्त्रीलाई समस्या समाधान गर्न आग्रह गरेका हुन्।  

'म मेरो च्यानलबाट कुरा गर्छु उहाँहरू (कर्मचारीलाई देखाउँदै ) को फर्मल च्यानलबाट पनि कुरा हुन्छ,'  प्रधानमन्त्री ओलीले भने, 'कामको परिणाम २-४ दिनमै आउँछ, तपाईंहरू आश्वस्त हुनुस्।'  

प्रधानमन्त्री ओलीले आफूलाई चिया क्षेत्रको समस्याको बारेमा सबै कुरा थाहा भएको भन्दै समाधानका लागि पनि पहल गर्ने बताए। 

'धेरै मेरा साथीहरू चियाको विकास र खेतीमा लाग्नु भएको छ। हामीले अहिलेसम्म विकल्प नखोज्दा समस्या भएको हो,' उनले भने, 'अब विकल्प पनि खोज्न तयार हुनुपर्छ, भारतसँग मात्रै भर पर्दा हामीले दु:ख पाएका छौँ अब विकल्प खोज्न थाल्नुस् ।' 

प्रधानमन्त्री ओलीले चियाको बजार पनि तेस्रो देश खोज्न व्यापारीलाई आग्रह गरे। संवादमा चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतले नेपाली चिया निर्यातै गर्न नसक्ने अवस्थामा पुर्‍याएको बताए। उनले प्रधानमन्त्रीसमक्ष भारतले अक्सनका नाममा अनिवार्य एजेन्ट राख्नुपर्ने, उसले तोकेको प्रयोगशालामा परीक्षण गराउनु पर्ने गरी बाध्यकारी नियम बनाउने गरेको गुनासो सुनाए। 

उनले  भने, 'चियाको परीक्षण गर्न ३२ वटा प्रयोगशालामध्ये एउटामा मात्र गर्न पर्ने परीक्षणको नतिजा नआएसम्म उसको गोदाममा राख्नुपर्ने र नट फिट फर कन्जमको रिपोर्ट आए त्यही नष्ट गर्ने नियम ल्याएको छ।' 

झापा र इलाम क्षेत्रका सरोकारवालाहरू प्रादेशिक संवाद समूहको सहजीकरणमा चिया क्षेत्रको समस्याका विषयमा संवाद गर्न सराेकारवालाकाे टाेली संघीय राजधानी  काठमाडौँ गएको हाे। 

चिया उत्पादक, किसान, चिया सहकारीका सञ्चालक, प्याकेजर्स र मजदुर का प्रतिनिधिसमेत टाेलीमा रहेकाे संवादका सहजकर्ता एकराज गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad