कारोबार


नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्ने सहमति

नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्ने सहमति

नेपालखबर
माघ १९, २०८१ शनिबार १४:४४, काठमाडौँ

व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ।

नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहाल र ‘इस्टोनिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री’का अधिकारीहरूबीच त्यहाँको राजधानी तालिनमा शुक्रबार भएको छलफलमा उक्त सहमति भएको हो।

पर्यटक मेलामा सहभागी हुन स्टोनिया पुगेका दाहालले कमर्सकी निर्यात सेवासम्बन्धी विभागकी संयोजक लिइसी किर्सेनलगायतसँग भेट गरेका थिए। भेटमा दुई देशबीच व्यापारिक सहकार्य विस्तारका लागि नेपाल-स्टोनिया चेम्बर स्थापना गर्ने सैद्धान्तिक सहमति भएको दाहालले जानकारी दिए।

दिल्लीस्थित नेपालका लागि स्टोनियन राजदूत मारिया लुपसँग पनि त्यसबारे कुराकानी भएको र आफू नेपाल फर्किएलगत्तै कमर्सको औपचारिक स्थापना गरिने उनले बताए।

‘कमर्स गठनका लागि अनुमति लिइसकेको छु। नेपालका लागि इस्टेनियन राजदूतले पनि ओके गर्नुभएको छ’, दाहालले भने, ‘म नेपाल फर्किएलगत्तै नेपाल-स्टोनिया कमर्सको विधिवत् गठन हुन्छ।’

ट्रेकिङ व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष समेत रहेका दाहाले छलफलका क्रममा आफूले नेपाल सरकार र निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन, उद्योग, व्यापार र सूचना प्रविधि क्षेत्र (आईसीटी) मा लगानी गर्न आग्रह गरेको बताए।

दाहालका अनुसार जवाफमा स्टोनिया चेम्बरका अधिकारीले नेपालको भ्रमण गरी त्यसको सम्भावनाबारे अध्ययन गर्ने बताएका छन्।

आईसीटी र साइबर सुरक्षाको क्षेत्रमा अब्बल मानिएको स्टोनियाले नेपालसँग ‘ई-कमर्स’का विषयमा सहकार्य गर्न चाहेको दाहालले बताए।

नेपालका लागि निवर्तमान स्टोनियन राजदूत केटरिन किभीले नेपाली उच्च अधिकारीहरूसँगको भेटमा यसअघि नै त्यसबारे प्रस्ताव राखेको भए पनि नेपालका तर्फबाट तत्परता आवश्यक नदेखाइएका कारण काम अगाडि बढ्न नसकेको दाहालको भनाइ छ।

नेपाल र उत्तरपश्चिमी युरोपेली मुलुक स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल हेर्ने स्टोनियाको राजदूतावास भारतको राजधानी नयाँ दिल्लीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad