कारोबार


खाद्य कम्पनीले बारा र पर्साबाट किन्यो २ हजार २७२ क्विन्टल धान

खाद्य कम्पनीले बारा र पर्साबाट किन्यो २ हजार २७२ क्विन्टल धान

नेपालखबर
माघ १४, २०८१ सोमबार २०:४८, वीरगञ्ज

वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्विन्टल सोनामन्सुली धान खरिद गरेको छ। कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो।

कम्पनीले यो हिउँदमा ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ। हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन्। कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताए।

‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’, उनले भने, ‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरहनुभएको छ।’

कार्यालयले दैनिक चार बजेभित्र कृषकले ल्याएको धान तौलिन भ्याएमा सोही दिनभित्रै भुक्तानी गर्दै आइरहेको जनाएको छ। विगतका दुई वर्ष बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन्। सरकारले यो वर्ष सोनामन्सुली धानप्रति क्वीन्टल रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा समर्थन मूल्य तोकेको छ। त्यसैगरी जिरामसिनोको समर्थन मूल्य प्रतिक्वीन्टल रु चार हजार तोकेको छ।

यसैबीच, गत आवमा धान, चामल आयात घटेको छ। अघिल्ला आर्थिक वर्षहरुको तुलनामा  गत आवमा वीरगञ्ज भन्सार हुँदै आयात हुने चामल आयातमा उच्च गिरावट आएको छ। भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै सो को प्रभाव नेपालमा देखिएको हो।

कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो।

आव २०७९/८० को तुलनामा गत आवमा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो।

आव २०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको थियो। सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलो धान आयात गरिएको थियो।

गत आव २०८०/८१ मा वीरगन्ज भन्सार हुँदै रु एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्यबराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलो चामल आयात भएको छ।

अघिल्लो आवको तुलनामा गत आवमा आयात भएको चामलको परिमाण ६३ दशमलव ८० प्रतिशतले कमी हो।

आव २०७९/८० मा भने रु दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार छ सय ८३ किलो चामल आयात भएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad