कारोबार


सरकारकै निकायहरू भन्छन् : कानुनी परिधिभित्रको व्यापारमा अवरोध गर्ने अधिकार कसैको छैन

सरकारकै निकायहरू भन्छन् : कानुनी परिधिभित्रको व्यापारमा अवरोध गर्ने अधिकार कसैको छैन

नेपालखबर
माघ ५, २०८१ शनिबार १५:५९, काठमाडौँ

तोकिएका शर्तको पालना गर्दै कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरुले बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन्। उनीहरूले कानुनभित्र रहेर गरिएका व्यापार व्यवसायमा अवरोध गर्ने अधिकार कसैको नरहेको जिकिर गरे।

कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीहरूले व्यवसायिक सुरक्षा र चुनौतिका विषयहरू के छन् भन्ने सन्दर्भमा छलफल चलाउन जरुरी रहेको बताए। छलफलले व्यवसाय गर्दाखेरिका चुनौति, व्यवसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरू स्पष्ट हुने बताए।

उनले भने, ‘कानुनी परिधिभित्र रहेर र तोकिएका शर्तको पालना गर्नेगरी व्यापार व्यवसाय गर्न पाउनेछ। त्यसमा कसैले पनि अवरोध गर्न हुँदैन। कहीँ कतै भइरेको छ भन्ने गुनासो छ। त्यो गुनासो पनि आगामी दिनमा सरोकारवाला निकायहरुसँग बसेर छलफल गरेर समाधान गर्न सकिन्छ।’

कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतैपनि दर्ता नभइ र गुणस्तरको बारेमा कहीँ पनि परीक्षण नगरी बिक्री वितरण गर्नेहरूमाथि सरकारले कडा कारबाही गर्ने बताए।

उनले विभागले उनीहरूको सामान जफत गर्नेदेखि जरिबाना तिराउनेसम्मको निर्णय लिनसक्ने बताए। उनले विधिवत ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचेको खण्डमा पनि कारबाही, जफत वा कुनै प्रकारका दण्ड जरिबाना गर्न नसक्ने बताए।

उनले भने, ‘कहीँ पनि नेपालमा दर्ता नभइकन, गुणस्तरको बारेमा कहीँ पनि खोजि नै नगरीकन जति पनि वस्तुहरु नेपालमा विक्री वितरण भइरहेका छन्, ति वस्तुहरुको हकमा हामी एकदमै कडा ढंगले अगाडि बढ्छौँ। त्यसलाई जफत, जरिबाना गर्ने सम्मको कानुनी कारबाहीमा अगाडि जान्छौँ। तपाईंले विधिवत ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचिरहनुभएको छ भने वाणिज्य विभागले कारबाही गर्ने, जफत गर्ने वा कुनै प्रकारको दण्ड जरिबाना गर्दैनौँ।’

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु रहेको बताए। उनले खाद्य वस्तुमा कुनैपनि प्रकारको सम्झौता नगरिने बताए।

स्वास्थ्यमाथिको खेलवाड गर्ने अधिकार कसैलाई पनि नरहेको उनको भननाई थियो। कुनैपनि वस्तु उत्पादन गरिसकेपछि कानूनी संरचनासँगै भौतिक संरचना र प्रविधिको प्रयोग अनिवार्य रहेकाले सरकारले सोहीअनुसार काम गरिरहेको बताए।

उनले भने, ‘मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु हो। त्यसैले कुनैपनि हालतमा यसको गुणस्तरमा हामीले सम्झौता गर्न हुँदैन। स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन। राज्यले तीन वटा पिल्लरलाई यस सम्बन्धित रहेर फोकस गरेको छ।’  

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायहरुले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताए। व्यवसायीहरूले पनि पारदर्शी हिसावले काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘सरकारी निकायले दर्ता र अनुगमनलाई स्विफ्ट बनाइदिने, फास्ट बनाइदिने र आँखाले देखिने मात्रै पारदर्शी हिसावले काम गरिदिने हो भने धेरै सस्तो त्यहीँबाट हुन्छ। औषधिको हकमा मात्रै होइन, खाद्य, तेल, निर्माण सामग्री सबैमा हो।’

उनले गलत ढंगले नाफा कमाउन खोज्नेहरुलाई भने कानूनी दायरामा ल्याउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad