नेपाल चेम्बर अफ कमर्सले आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्वको रहेको जनाएको छ।
सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकाराकात्मक रहेको चेम्बरले उल्लेख गरेको हो।
‘सार्वजनिक सेवा सुधार, र आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएका छौँ’ चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अर्थतन्त्रको सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बर अफ कमर्सले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो।
वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको देखिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए। रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ।
यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए।
उनले भने, ‘चेम्बरले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्बोधन भएको छ। यो सकारात्मक कदम हो।’
सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि कोशेढुङ्गा भएको चेम्बरको ठहर छ।
आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ वटा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ वटा कानुनमा संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्वपूर्ण भएको चेम्बरले उल्लेख गरेको छ।
जग्गा बाहेक स्थिर सम्पत्ति वा सम्झौताको धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने विज्ञप्तीमा उल्लेख छ।
यस्तै विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुलाई सकारात्मक रुपमा लिएको बताउँदै सेवा क्षेत्रलाई पनि सेजमा आबद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले निजी क्षेत्रलाई उत्साहित बनाएको अध्यक्ष अग्रवालले बताए।
Shares

प्रतिक्रिया