कारोबार


निर्माण क्षेत्र लगातार ऋणात्मक हुँदाको असर व्यापार र खानीमा

निर्माण क्षेत्र लगातार ऋणात्मक हुँदाको असर व्यापार र खानीमा

फाइल तस्बिर


वसन्त अर्याल
पुस २४, २०८१ बुधबार १५:३०, काठमाडौँ

निर्माण क्षेत्र लगातार ऋणात्मक हुँदाको असर व्यापार र खानीमा परेको छ। भौतिक पूर्वधार निर्माणमा आएको कमीले देशको अर्थतन्त्रलाईमाथि उकास्न नसकेको देखिएको हो। 

पछिल्लो २ वर्ष ऋणात्मक रहेको निर्माण क्षेत्र तेस्रो आर्थिक वर्षमापनि सुधार हुन सकेन। आर्थिक वर्ष २०७९/०८० को दोस्रो र तेस्रो त्रैमास नकरात्मक रहेको थियो। दोस्रो त्रैमासमा माइनस १७ प्रतिशत, तेस्रो त्रैमासमा माइनस ५.५ प्रतिशत थियो। बैशाख, जेठ, असारमा १४.१ प्रतिशतले बढेको थियो।

गत आर्थिक वर्ष ०८०/०८१ का सुरुका दुई त्रैमासमा सुधार देखिए पनि पछिल्ला २ वृद्धिदर ऋणात्मक थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमास ०.३ प्रतिशतले कमी छ। राष्ट्रिय तथ्यांक कार्यालयको त्रैमासिक प्रतिवेदन अनुसार पहिलो त्रैमास ३.४ प्रतिशतले वृद्धि रहेको छ।

कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यामा आ.व २०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आव २०८१/८२ को सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ। कार्यालयले १८ क्षेत्रमा बाँडेर गरेको अध्ययनमा निर्माण क्षेत्र ऋणात्मक देखिएको छ। 

तथ्यांक कार्यालयले असोजमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको दाबी गरेको छ। 

थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिकमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्र सामान्य वृद्धि मात्रै भएको छ। 

तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी हाइड्रोबाहेक देशमा नयाँ निर्माणका काम नभएको बताउँछन्। ‘निजी क्षेत्रले बनाउने संरचनादेखि सार्वजनिक रुपमा निर्माण हुने भौतिक संरचनामा नै कमी आएको छ,’ डा. रेग्मीले नेपालखबरसंग भने,‘पालिकाहरुमा नक्सापास हुनेक्रम नै घटेको छ। सार्वजनिक अयोजनाको प्रगतिपनि पहिलो त्रैमासमा खासै देखिएन।’

२०७२ सालको भूकम्पपछि निर्माण क्षेत्र ‘बुम’ भएपनि पछिल्लो समय यसमा कमी देखिन्छ। निर्माण क्षेत्र प्रभावित हुँदाको असर खानी र व्यापारमा असर परेको बताउँछन्। ‘नेपालमा खानी भनेको ढुंगा, गिट्टी, बालुवा उत्खनन् हो, जति बढ्नुपर्ने निर्माणका काम नहुँदा बढेन,’ उनले भने,‘निर्माणसंगै जोडिएका वस्तुको आयात नै घटेको छ। मेसिनेरी समानसंगै अलकत्रा, उपकरणको आयात घटेको छ।’

निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगतगरी निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने व्यवस्था थियो। यसले बैंकको खराब कर्जा बढ्दै गएपनि निर्माण क्षेत्रको सुधार भने हुन सकेको छैन। 

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले  निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने उल्लेख छ।  

निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने नीति लिएको थियो। 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले असोजसम्म त सरकारले व्यवसायीको भुक्तानी नगर्दा आयोजनाको प्रगति नै हुन नसकेको बताउँछन्। ‘राष्ट्र बैंकले त किस्ताबन्दी दिएको हो। सरकारले गत वर्षको सबै भुक्तानी बल्ल दिन थालेको छ। नयाँ काम थाल्न व्यवसायीसंग पैसा नै छैन,’ सिंहले भने,‘राष्ट्रिय गौरबका आयोजनाका निर्माण व्यवसायीले भुक्तानी पाएका छन््। तर, साना आयोजनाको भुक्तानी भएको छैन। व्यवसायीसंग पैसा नै नभएपछि प्रगति हुँदैन।’
 
हाइड्रो र पर्यटन उत्साहजन वृद्धि
त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्यअभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्। 

त्यसबाहेक अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको तथ्यांक कार्यालयले प्रतिवेदनमा उल्लेख छ। 

कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ।  जसमध्ये विद्युत तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर  २१.४५  रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ। यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ। 

त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ। प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे वालीहरु र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मुल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको उल्लेख छ। 

समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको दाबी छ। यद्यपि, वर्षायामको बाढी र पहिरोले पुर्‍याएको क्षतिका कारणले कृषि क्षेत्रको कुल मूल्यअभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको प्रवक्ता समेत रहेका रेग्मीले बताए। 

त्यसैगरी, यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर २.३ प्रतिशतले धनात्मक रहन गएको छ। गत वर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आ.वको औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण यो क्षेत्रको वृद्धि सुधारोन्मुख देखिन्छ। ३ महिनामा शिक्षा क्षेत्रमा ०.४५, स्वास्थ्यमा ४.१५, घरजग्गा कारोबारमा ३.१५ प्रतिशत वृद्धिदर रहेको छ। 

‘अघिल्ला वर्षको तुलनामा घरजग्गा कारोबारमा केही सुधार आएको देखिन्छ,’ उपतथ्यांक अधिकृत रेग्मीले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad