ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण बिजुली चोरेर काम भइरहेको फेला परेको छ।
नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो। टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, वत्तिलगायतका उपकरण नियन्त्रणमा लिएको छ। रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ।
केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले फिल्ड रिपोर्ट र एक वर्षको खपत विवरणलाई आधार मानी दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको जानकारी दिए। उनले डारेक्ट हुकिङबाट एक लाख ४७ हजार आठ सय २३ रुपैयाँको विद्युत् चोरी भएको, त्यसमा शत्प्रतिशत जरिवाना, लाइन काटेको र मूल्य अभिबृद्धिकरसहित दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ निर्धारण गरिएको बताए।
प्राधिकरणले तोकेको जरिवाना उपभोक्ता समितिले तिरेको पनि प्रमुख श्रेष्ठले जानकारी दिए।
‘उपभोक्ता समितिले बुधबार निर्धारण गरिएको रकम बुझाइसकेको छ, अब मिटर राखी विद्युत् जडान गर्ने तयारी भइरहेको छ’ उनले भने।

प्रतिक्रिया