यो साता सेयरबजारमा विकास बैंकहरु छाए। आइतबार राताम्य बनेका यस समूहका सूचकहरु अन्तिम कारोबार दिन हरियाली रहे।
नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि साताभर विकास बैंकहरुको सेयर मूल्यमा उल्लेखनीय उतारचढाव आयो।
कर्णालीसँगै अन्य विकास बैंकहरुबारे पनि नराम्रा समाचार छाउँदा सेयर बिक्रीमा लागेका लगानीकर्ता अन्तिम दिनसम्म आइपुग्दा सम्हालिए। बजारमा खरिदलाई बढाउन थाले।
समग्रमा यो साता नेप्से ४४.४७ अंकले घट्यो। गत हप्ताको अन्तिम दिन बिहीबार २६३०.७१ अंकमा बन्द भएको बजार यो साता घटेर २५८६.२३ अंकमा ओर्लियो।
यो हप्ता ४ दिन कारोबार भयो। त्यसमध्ये २ दिन सूचक बढ्दा २ दिन घट्नपुग्यो। दुई दिन बढे पनि बजारले गत साताको सूचकलाई भेट्टाउन सकेन। बजारप्रति यो साता लगातार नकारात्मक सूचनाहरु प्रवाह भइरहँदा त्यसले लगानीकर्ताको मनोविज्ञानलाई प्रभावित पारेको देखियो।
सुरुवातमै विकास बैंकका वित्तीय सूचक कमजोर भएका र खराबकर्जा निरन्तर बढेको समाचार आउँदा त्यसले विकास बैंकका सेयर घटाउन मद्दत पुग्यो। योसँगै लगानीकर्ताले बजारमा ठूलो मात्रामा सेयर बिक्रीमा राख्दा सूचक घट्न सहयोग गर्यो।
आइतबार २१ अंकले नेप्से घट्दा मंगलबार ३३ अंकले घटेको थियो। दुई दिन दोहोरो अंकले घटेको बजारमा अधिकांश विकास बैंक र फाइनान्स कम्पनीहरुले मूल्य गुमाउन पुगे।
आइतबार नारायणी, सप्तकोशी, सिन्धु विकास बैंक र फाइनान्स तर्फका सपोर्ट र जानकी फाइनान्सको मूल्यमा नकारात्मक सर्किट लाग्यो। १० प्रतिशतले मूल्य घटेका यी कम्पनीहरु दोस्रो कारोबार दिन मंगलबार पनि बढ्न सकेनन्।
समग्रमा यो दिन १४ मध्ये १३ वटा विकास बैंकका सेयरमूल्य घटेका थिए। यो दिन लगानीकर्ताले ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार गरे।
सोमबार सार्वजनिक विदा भएर कारोबार बन्द रह्यो भने मंगलबार पनि बजार घटेर राताम्मे नै बन्न पुग्यो। यो दिन ३३ अंकले नेप्से घट्दा लगानीकर्ताले ५ अर्ब ६७ करोड रुपैयाँको कारोबार गरे।
अघिल्लो दिनभन्दा १० करोड बढी कारोबार गरे पनि लगानीकर्ताले नाफा भने कमाउन सकेनन्। यो दिन २९ वटाको सेयरमूल्य बढ्दा २ १२ वटा सेयरका लगानीकर्ताले मूल्य गुमाएका थिए।
यो दिन सबैभन्दा बढी सपोर्ट, जानकी र पोखरा फाइनान्समा नकारात्मक सर्किट लाग्यो भने सकारात्मक सर्किट यो दिन कुनै पनि कम्पनीमा लाग्न सकेन।
बुधबार र बिहीबार भने बजारले सुधारिन खोज्दा नेप्सेमा एकल अंकको वृद्धि देखियो।
बुधबार नेप्से ५.१० अंकले बढ्दा १५० वटा कम्पनीका लगानीकर्ताले कमाउन सफल बने भने ८८ वटा कम्पनीका लगानीकर्ताले भएको मूल्य पनि गुमाएका थिए।
दुई दिन निरन्तर घटेका कारण बुधबार भने बजारमा लगानीकर्ताको सक्रियता उति देखिएन। उनीहरुले ‘पर्ख र हेर’ नीति अपनाउँदा यो दिन कारोबार रकम खुम्चिएर ३ अर्ब ५९ करोड रुपैयाँमै सीमित हुनपुग्यो।
बुधबार बजार सम्हालिँदा यो दिन गुमाउनेभन्दा कमाउने बढी देखिए। यो दिन त्रिशूली जलविद्युतमा सकारात्मक सर्किट लागे पनि सपोर्ट माइक्रोफाइनान्सले सपोर्ट पाएन।
आइतबार, मंगलबार निरन्तर मूल्य घटेको सपोर्ट माइक्रोफाइनान्सको यो दिन पनि १० प्रतिशतले मूल्य घटेर नकारात्मक सर्किट लाग्न पुग्यो।
बिहीबार भने ४.६३ अंकल नेप्से बढ्यो तर लगानीकताले कारोबार बढाएनन्। बुधबार ३ अर्ब ५९ करोड रुपैयाँको कारोबार गरेका लगानीकर्ताले अन्तिम दिन बिहीबार पनि ४ अर्ब ६० करोड रुपैयाँको मात्रै गरे।
आइतबार लगानीकर्ताले गरेको कारोबारको तुलनामा यो ८७ अर्बले कम हो।
कारोबार खुम्च्याए पनि यो दिन भने विकास बैंक, लघुवित्त र केही जलविद्युत् कम्पनीका लागि भने सुखद बन्न पुग्यो। बिहीबार १५६ वटा कम्पनीको मूल्य बढ्दा ७७ वटा कम्पनीको मूल्य घट्यो।
यस दिन ङादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने विकास बैंक, जलविद्युत् र माइक्रोफाइनान्सहरु सर्वाधिक कमाउनेको सूचीमा अगाडि देखिए।
समग्रमा यो सातामा कारोबारको पहिलो दिन सबैभन्दा धेरै मूल्य गुमाएका विकास बैंकहरुले अन्तिम दिन थोरै भए पनि कमाए। यद्यपि हप्ताभरिको मूल्यगत उतारचढावलाई हेर्ने हो भने विकास बैंकहरु यो हप्ता मूल्य गुमाउनेमा अगाडि नै देखिन्छन्।
यो हप्ता सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य घट्न पुग्यो। यो बैंकको मूल्य यस हप्ता १२ प्रतिशतले घट्दा एक्सेल डेभलपमेन्ट बैंकको ८ प्रतिशत, साइन रेसुंगा बैंकको ७ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६ प्रतिशतले घट्न पुग्यो। योबाहेक सबै विकास बैंकको मूल्य १ देखि ३ प्रतिशतसम्मले घट्न पुग्यो।
यो हप्ताभर १४ वटा कम्पनीको मूल्य बढ्दा अन्य सबै कम्पनीको मूल्य घटेको हो। हप्ताभरको मूल्यगत उतारचढावअनुसार सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तले कमाएको छ।
यो कम्पनीको मूल्य यो हप्ता ३९ प्रतिशतले बढेको छ।
Shares

प्रतिक्रिया