कारोबार


नागढुंगा सुरुङमार्गको प्रगति हेर्न तीनचोटि पुगे भौतिकमन्त्री, तर अझै गाडी गुड्ने छैन टुंगो

मासिक लक्ष्य निर्धारण गरी परिणाम बुझाउन निर्देशन
नागढुंगा सुरुङमार्गको प्रगति हेर्न तीनचोटि पुगे भौतिकमन्त्री, तर अझै गाडी गुड्ने छैन टुंगो

नेपालखबर
पुस १७, २०८१ बुधबार १५:२७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नागढुंगा सुरुङमार्गमा प्रगति हेर्न ३ पटक पुगे पनि गाडी गुड्ने टुंगो लागेको छैन।

सुरुङमार्ग ब्रेक थ्रुको ५ महिना पुग्दा पनि मन्त्रालयले समस्या समाधान नगर्दा गाडी गुड्ने समय तोक्न नसकेको हो। 

बुधबार पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा-नौबिसे-मुग्लिङ सडक निर्माणको नतिजा देखाउन निर्देशन दिए।

स्थलगत निरीक्षण गरेका उनले निर्माण कम्पनी तथा मन्त्रालयमातहतका कार्यालयलाई निर्देशन दिएका हुन्। अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने उनको चेतावनी थियो। 

मन्त्रीको सचिवालयले मन्त्रीको ताकेतापछि निर्माणको काममा तीव्रता पाएको दाबी गरेका छन्। बुधबार मन्त्रीसँगै भौतिक सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन्। 

कुनै पनि बहाना र कारणले निर्माणमा ढिला सुस्ती नगर्न भन्दै उनले कामको परिणाम देखिने गरी निर्माणमा तीव्रता दिन आग्रह गरे। 

यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको बताए। 

मन्त्री दाहाल एवम् मन्त्रालयका अधिकारीहरुसँग निर्माण कम्पनीका प्रतिनिधिहरुले यसअघि निर्माण सामग्री जुटाउन देखिएको समस्या   समाधान भएको बताएका थिए। उनीहरुले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्यप्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिबद्धता जनाएका छन्। 

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार भौतिक काम करिब ८४ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ७७ प्रतिशत छ।

मुख्य सुरुङमार्गको पेभमेन्टको काम ३१ प्रतिशत मात्रै भएको छ। बलम्बुमा फ्लाई ओभरको लागि ५ प्रतिशत जग्गा लिनैसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad