कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले नेपाली कृषि उत्पादन व्यवस्था सुधार गर्न सरकारले पहलकदमी गर्ने भन्दै पाँचवटा नीतिगत प्राथमिकताका आधारहरु सार्वजनिक गरेका छन्।
मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले उत्पादन सामग्रीमा अनुदान दिनेदेखि किसानको न्यूनतम बचतको ग्यारेन्टी गर्नेसम्मको योजना अघि सारेका हुन्।
नेपालको कृषि विकासमा दुईवटा समस्या रहेको औँल्याउँदै उनले कृषिमा यन्त्रीकरण गर्ने र न्यूनतम बचत हुन्छ भन्ने प्रत्याभूति किसानलाई गराउनुपर्ने बताए। उनले कृषि उत्पादन र बचतमा जोड दिँदै त्यसले मात्र औद्योगीकरणको वास्तविक आधार तयार गर्ने बताए।
‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने मूल नारा अघि सार्दै मन्त्री भुसालले विगतका अनुभवबाट पाठ सिकेको बताए। मन्त्रालय बलियो बनाउन लामो समय खर्चिनुपरेको बताउँदै उनले हाल साधन स्रोत र कानुन बलियो हुँदै गए पनि किसान र कृषि बलियो नभएकाले त्यसतर्फ आफूले पहलकदमी लिने दाबी गरे।
‘किसानलाई विकास दिनसक्ने गरी मन्त्रालयलाई बलियो बनाउन हामीले लामो समय खर्च गर्यौं। कृषिको विकास किन भएन भन्ने प्रश्नको उत्तर हामी पर्याप्त बलियो नभएर भन्ने दियौं’, उनले भने, ‘परिणाम के भयो भने हामी साधनस्रोत र कानुनले बलियो हुँदै गयौं तर किसान र कृषि बलियो भएनन्।’
नेपालको सामाजिक र आर्थिक जीवनमा कृषि क्षेत्रको महत्व ठूलो रहेको बताउँदै उनले राजनीतिक र संवैधानिक गणतन्त्र धान्न सक्ने कृषि अर्थतन्त्रको विकास गर्नुपर्ने बताए।
यी हुन् ५ प्राथमिकता
१ उत्पादन सामग्रीमा अनुदान :
हामीले दिदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउरनश्ल, मल, सिंचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरिने छ। तिनलाई सर्वसुलभ बनाइनेछ।
२ सबै किसानको घरदैलोमा प्राविधिक सेवा/टेवा :
हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेण्टी गरिनेछ। स्थानीय तहमा करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसंग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गरिने छ।
३ सस्तो र सुलभ ऋण :
सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिनेछ।
४ बाली तथा पशुपन्छी बीमा :
कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहँचमा प्रयाउने ग्यारेण्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कषि बालि/वस्तुको हानीनोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ।
५ न्यूनतम बचतको ग्यारेण्टी :
किसानले उत्पादन गर्ने मुख्य बाली/वस्तको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मल्य तोकिनेछ। किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ।

प्रतिक्रिया