गत साता नै निरन्तर घटेको नेप्से सूचकले यो साताको सुरुवात पनि घटेरै गरेको छ।
आइतबार पनि १३.५३ अंकले घटेर २५८३.२९ अंकमा नेप्से आइपुगेको हो।
गत हप्ता ४ दिन कारोबारमा आएको बजार तीन दिन दोहोरो अंकले घटेको थियो भने दैनिक सेयर खरिदबिक्री पनि ४ अर्बमा ओर्लिएको थियो।
गत साताझैँ यो साता पनि नेप्सेले ओरालो यात्रा सुरु गरेको हो। यो दिन दोहोरो अंकले घटेको नेप्सेमा लगानीकर्ताले ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार गरेका छन्।
बजार घटेर राताम्मे बन्दा पनि ८४ वटा सेयरको भने आइतबार मूल्य बढ्यो। आज कुल कारोबारमा आएका ३१९ सेयरमध्ये १५४ वटाको मूल्य घट्दा ८४ वटाको बढेको हो।
त्यसमा पनि तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्न पुग्यो।
सपोर्ट माइक्रोफाइनान्स, वाराही हाइड्रो र ङादी हाइड्रोको मूल्यमा १० प्रतिशत वृद्धि देखिएको छ।
यीबाहेक सुपर मादी हाइड्रो, पिपुल्स पावर कम्पनीको पनि सर्किट तहमै (९ प्रतिशत) मूल्यवृद्धि हुनपुग्यो।
यता घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक र माया खोला हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको सेयरमूल्य क्रमश ६.४० र ६.१२ प्रतिशतले घटेको छ।
कारोबारमा भने आज रिभरफल्स हाइड्रो अगाडि छ। यो कम्पनीको २२ करोडको कारोबार हुँदा जानकी फाइनान्स १२ करोडको कारोबारसहित दोस्रो स्थानमा देखिएको छ।
Shares

प्रतिक्रिया