नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा २ जना नियुक्त भएका छन्।
मंगलबार रिक्त हुनेबित्तिकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको निर्णयबाट डा. बलबहादुर पराजुली र इन्जिनियर लक्ष्मण केसीलाई नियुक्त गरेका हुन्।
पराजुली एमाले कोटाबाट नियुक्त भएका हुन्। मन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनी जलविद्युत् क्षेत्रमा परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। उनले भेरी बबई बहुउद्देश्यीय आयोजना र एसियाली विकास बैंकमा पनि परामर्शदाताको भूमिका निर्वाह गरेका छन्।
कांग्रेस कोटाबाट लक्ष्मण केसी नियुक्त भएका छन्। उनी कांग्रेसनिकट इन्जिनियरिङ संघ (सिडेन)का अध्यक्ष पनि हुन्। अमेरिकामा सिभिल इन्जिनियरिङ पढेका केसीले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन्।
उनीसँग ५ वर्ष विश्व बैंकमा इन्जिनियरिङ परामर्शदाताको काम गरेको अनुभव छ।
मंगलबारबाट विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनको अवधि सकिएको छ। यसअघि मन्त्रीले उनीहरूलाई हटाए पनि सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका थिए।
Shares

प्रतिक्रिया