कारोबार


बिमितले त्यागे बिक्री भएको बिमालेखको ९ प्रतिशत बिमा, महिनामै २६ प्रतिशतले बढ्यो बिमा सरेन्डर

बिमितले त्यागे बिक्री भएको बिमालेखको ९ प्रतिशत बिमा, महिनामै २६ प्रतिशतले बढ्यो बिमा सरेन्डर

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १७:१४, काठमाडौँ

बिमा गरेर बीचैमा छाड्ने बिमितको संख्या उल्लेख्य बढेको छ।

कात्तिकमा मात्रै जीवन बिमातर्फ बिमालेख छोड्ने संख्या २६.२७ प्रतिशतले वृद्धि भएको हो। 

गत असोज मसान्तसम्म ३ अर्ब ८२ करोड रुपैयाँबराबरको बिमालेख बीचमै छाडेका बिमितले कात्तिकमा मात्रै १ अर्ब ५० लाख रुपैयाँबराबरको बिमालेख त्यागेका हुन्। समग्रमा कात्तिक मसान्तसम्म बिमितले ४ अर्ब ८२ करोड रुपैयाँबराबरको ३५ हजार ९ सय ८५ वटा बिमालेख त्यागेका हुन्। 

ऐनअनुसार जीवन बिमा कम्पनीहरुको बिमालेख त्याग्नुपर्दा बिमितले बिमालेख खरिद गरेको तीन वर्ष वा तीन किस्ता तिरेको हुनुपर्ने व्यवस्था छ। नेपाल बिमा प्राधिकरणका अनुसार बिमितले ३ किस्ता तिरेर बिमालेख सरेन्डर गर्दा आफूले तिरेको ६० देखि ७० प्रतिशतसम्म रकम बिमितले फिर्ता पाउनेछन्। 

तर बिमितले तिरेको जम्मै रकम भने बिमालेख सरेन्डरपछि पाउँदैनन्। बिमालेख सरेन्डर बढ्न थालेपछि प्राधिकरणले तीन किस्ता तिर्नैपर्ने अनिवार्य व्यवस्था गरे पनि बिमितले आफूले तिरेको रकम पनि छोडेरै बिमालेख त्याग गर्न थालेका हुन्। 

प्राधिकरणका अनुसार यो चार महिनामा १४ वटा बिमा कम्पनीहरुले बिमालेख बिक्रीमार्फत कुल ५३ अर्ब ३३ करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका थिए। जसमा करिब ५ अर्ब रुपैयाँबराबरको बिमालेख बिमितले त्यागेका हुन्। 

कुल बिमाशुल्क संकलनको ९ प्रतिशत रकमबराबरको बिमालेख यो चार महिनामै त्यागेका हुन्। बिमालेख त्याग्ने क्रम बढ्नुलाई बिमा कम्पनीहरुको व्यवसायमा आँच आउनसक्ने प्रमुख कारण मानिन्छ। 

तर पछिल्लो समय बिमालेख त्याग्नेक्रम क्रमशः उकालो लाग्न थालेपछि त्यसको असर व्यवसायमै देखिने सम्भावना बढेको छ। 

कात्तिक मसान्तसम्म सबैभन्दा धेरै बिमालेख बिक्री दोस्रो नम्बरमा परेको लाइफ इन्स्योरेन्स कम्पनी बिमा त्याग भएको आधारमा भने पहिलो स्थानमा देखिएको छ। यो चार महिनामा कुल ६ अर्ब ५६ करोड रुपैयाँको बिमाशुल्क संकलन गरेको यो कम्पनीको सोही अवधिमा १ अर्ब ५७ करोड रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको हो । 

नेपाल लाइफले भने यो पटक सरेन्डरलाई घटाएको छ।  बिमाशुल्क संकलनका आधारमा पहिलो रहेको नेपाल लाइफ सरेन्डरका आधारमा भने दोस्रोमा झरेको छ। यो अवधिमा नेपाल लाइफको १ अर्ब ३७ करोडबराबरको बिमालेख समर्पण भएको हो।

सरेन्डर धेरै हुनेमा पहिलो बनेको लाइफ इन्स्योरेन्स भने बिमाशुल्क संकलनका आधारमा तेस्रो स्थानमा छ। 

राष्ट्रिय जीवन बिमा कम्पनीको ३७ करोड ४१ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको छ। यो कम्पनीले कात्तिकसम्म कुल १ अर्ब ७७ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन गरेको थियो। शुल्क संकलनका आधारमा यो कम्पनीको २१.०६ प्रतिशत बिमालेख सरेन्डर भएको हो। 

योबाहेक नेशनल लाइफ इन्स्योरेन्सको २९ करोड ३१ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २७ करोड ९६ लाख, सूर्यज्योति रिलायन्सको २३ करोड ११ लाख, हिमालयन लाइफको २२ करोड ७४ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको हो। 

यस्तै मेट लाइफ इन्स्योरेन्सको १३ करोडबराबरको बिमालेख सरेन्डर हुँदा सानिमा रिलायन्सको ९ करोड ३१ लाख, आईएमई लाइफको ६ करोड ५४ लाख, सिटिजन्स लाइफको ६ करोड ५२ लाख, प्रभु महालक्ष्मी लाइफको ५ करोड ४९ लाख रुपैयाँको बिमालेख सरेन्डर भएको छ। योबाहेकका रिलायबल नेपाल र सन नेपाल लाइफको भने सबैभन्दा थोरै बिमालेख सरेन्डर भएका छन्। 

व्यावसायिक हिसाबमा पनि साना रहेका यी दुवै इन्स्योरेन्सको कात्तिक मसान्तसम्म क्रमशः ३ करोड ६३ लाख र २ करोड २९ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad