सेयर लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा १८ कारोबार दिनमा ६ अर्ब बढी ऋण लिएर लगानी गरेका छन्।
लगानीकर्ताले असोज महिनामा कुल ६ अर्ब ७ करोड ७ लाख रुपैयाँबराबरको ऋण लिएर धितोपत्र दोस्रो बजारमा लगानी गरेका हुन्।
नेप्से सूचक ३ हजार विन्दुमा पुगेर फर्किएसँगै असोज महिनाभर बजारले गति लिन सकेको थिएन।
न्यूनतम विन्दु २४ सयमा झरेर बजार पुनः फर्किँदा लगानीकर्ताले पनि लगानीलाई पुनः बढाएका थिए। जसले गर्दा बजार बढेको भदौ महिनाको तलनामा असोज महिनामा ६ अर्ब बढीको सेयर धितोबापतको कर्जा प्रवाह भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चालू आवको पहिलो त्रैमासिकमा १ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्।
भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९९ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा असोज मसान्तसम्म ६.०९ प्रतिशतले कर्जा बढेको छ।
चाडपर्वका कारण असोज महिनाभर १८ दिन मात्रै बैंक तथा वित्तीय संस्थाहरु खुलेका थिए भने धितोपत्र कारोबार पनि १८ दिन नै भएको थियो। यसले गर्दा पछिल्लो १८ दिनमा लगानीकर्ताले सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब बढीको ऋण झिकेका हुन्।
जसमा वाणिज्य बैंकहरुबाट असोज मसान्तसम्म लगानीकर्ताले ४ अर्ब २१ करोड रुपैयाँ ऋण झिक्दा विकास बैंकबाट १७ अर्ब ३ करोड र फाइनान्सबाट ४ अर्ब २३ करोड रुपैयाँ ऋण झिकेका हुन्।
२२ सय अंकबाट बजार उकालो लाग्न थालेपछि लगानीकर्ता कारोबारमा होमिएका थिए। भदौ महिनामै लगानीकर्ताले २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार गरेपछि बजारले पुनः गति लिएको थियो। बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर पनि ओर्लिएर एकल अंकमा झरेपछि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरुबाट लिने मार्जिन कर्जालाई बढाएका हुन्।
Shares

प्रतिक्रिया