साताको अन्तिम दिन पनि धितोपत्रको दोस्रो बजारमा सेयर खरिद चाप देखियो। बिहीबार लगानीकर्ताले सेयर खरिदलाई प्राथामिकतामा राख्दा झण्डै साढे १० अर्ब हाराहारीमा सेयर किनबेच भएको हो।
यो दिन नेप्से सूचक १३.९५ अंकले बढेर २७४८.७८ अंकमा बन्द भयो। दिनभर हरियाली बनेको बजारमा लगानीकर्ताले ३२१ कम्पनीको २ करोड १६ लाख कित्ता १ लाख १ हजार पटक खरिदविक्री गरेका थिए।
दिनभर बजारमा १० अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा लगानीकर्ताले सबैभन्दा धेरै काराबार भने जानकी फाइनान्सको गरेका छन्। यो कम्पनीको मात्रै आज ३५ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।
कारोबार सँँगै आज कमाउने कम्पनीहरुको सूची गुमाउनेको तुलनामा धेरै देखिएको छ। कारोबारमा आएका ३२१ कम्पनी मध्ये १५९ कम्पनीको सेयरमूल्य बढ्दा आज ७९ कम्पनीको भने मूल्य घटेको हो। यो बाहेक ६ वटा कम्पनीको भने आज मूल्यमा उतारचढाव देखिएन।
बढ्नेमा आज गुँरास लघुवितत, स्वाभिमान लघुवित्त र अप्पर हेवाखोला हाइड्रो अगाडि छन्। यी तीन वटै कम्पनीको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको हो।
घट्नेमा भने आज रावाखोला जलविद्युत अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्य आज ९.१२ प्रतिशतले घटेको हो। यो बाहेक कुथली बुखरी हाइड्रो, पिपुल्स हाइड्रोको सेयर क्रमश ७.३२ र ६.०८ प्रतिशतले घटेको हो।
Shares

प्रतिक्रिया