नेपालकी अनुजा सराफ अग्रवालले व्यवस्थापन क्षेत्रमा खटिएका महिलाहरूबीचको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ‘बिजनेस रोलमोडल’ उपाधि जितेकी छन्।
व्यवस्थापनमा महिला नामक सञ्जालले मलेसियामा आयोजना गरेको ‘प्रोफेसनल एन्ड करिअर वुमन ग्लोबल अवार्ड २०२४’ प्रतियोगिताका लागि २९ देशका २ सय ६० जनाको मनोनयन परेको थियो। तीमध्येबाट निर्णायकमण्डलले टप ५० छानेको थियो।
टप ५० मा परेका महिला उद्यमी तथा व्यवस्थापकहरूबाट पाँच चरणको छनोट प्रक्रियापछि अनुजालाई बिजनेस रोलमोडल घोषणा गरेको हो।
अनुजा काठमाडौँस्थित ब्रिटिस कलर इन्ड्स् प्रालिकी निर्देशक हुन्, जसमार्फत उनले ‘मेक इन नेपाल’ अभियान पनि सञ्चालन गरिरहेकी छन्।
बालाजु औद्योगिक क्षेत्रमा रहेको उनको कम्पनीले उच्च मूल्यका तयारी सामानहरूको आयात घटाउने उद्देश्यले स्वदेशी स्रोत साधन र स्थानीय जनशक्ति प्रयोग गरी गुणस्तरीय कोटिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम गरिरहेको छ।
उनले आफ्नो नेतृत्वको कम्पनीलाई सफलतासाथ अगाडि बढाउँदै नयाँ उचाइमा लैजानुका साथै अरूलाई पनि प्रोत्साहित गरेका कारण यस उपाधिका लागि योग्य घोषणा गरिएको उक्त संस्थाले जनाएको छ।
कात्तिक २२ (नोभेम्बर ७) का दिन उनलाई मलेसियामा एक समारोहमाझ अवार्ड प्रदान गर्ने कार्यक्रम छ।
Shares

प्रतिक्रिया