कारोबार


बुवाको बिँडो थामेका न्यौपानेलाई र्‍याक बनाउन भ्याइनभ्याइ

बुवाको बिँडो थामेका न्यौपानेलाई र्‍याक बनाउन भ्याइनभ्याइ

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १४:५४, काठमाडौँ

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन्।

बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका हुन्। लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्‍याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन्। व्यवसायीहरूले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्‍याकको माग गर्ने भएकाले उनको दैनिकी र्‍याक बनाउनमै बित्छ।

‘अहिले र्‍याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत र्‍याक बनाएर बस्नु परेको छ’, उनले भने, र्‍याक लिन व्यापारीहरू आफैँ गाडी लिएर आइपुग्छन्।’

बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ। उनका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा र्‍याक तयार गर्छन्।

विभिन्न चार आकारको र्‍याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा रु तीन सय १० देखि रु पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए। र्‍याक बिक्रीबाटै खर्च कटाएर उनले हाल मासिक औसतमा रु ३० हजार बचत गर्ने गरेको बताए। कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट र्‍याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ।

‘र्‍याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ’, उनले भने, ‘छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ।’

र्‍याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए। सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए।

सुरुमा रु १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ। बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर र्‍याक बनाउन सकिन्छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad