कारोबार


चाडपर्वका बेला समेत बढेन आयात, करिब ४ प्रतिशतले घट्दा राजस्वमा धक्का

चाडपर्वका बेला समेत बढेन आयात, करिब ४ प्रतिशतले घट्दा राजस्वमा धक्का

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १५:२५, काठमाडौँ

चाडपर्वको समयमा समेत आयात घटेको छ। भदौमा बढेको आयात असोजमा करिब ४ प्रतिशतले घटेको हो। 

गत आर्थिक वर्ष साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। गत वर्ष १.६९ प्रतिशतले वृद्धि भएको थियो। 

चालू आर्थिक वर्षको साउनमै आयात ०.६७ प्रतिशतले गिरावट आएको थियो। भदौमा केही बढे पनि असोजमा पुनः गिरावट आएको छ।

भन्सार विभागले लक्ष्य पूरा गर्न नसकेको जनाएको छ। 

विलासिता वस्तु आयातमै प्रतिबन्ध लागेको अवस्थामा आर्थिक वर्ष २०७९/०८० मा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको थियो। त्यसमा गत वर्ष ७ अर्ब रुपैयाँ बढेकोमा चालू आर्थिक वर्षमा झन् गिरावट आएको छ। 

गत भदौसम्म २ खर्ब ६२ अर्बको आयात पुगेको थियो। आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १.०८ प्रतिशतले बढ्यो। भन्सार विभागले यसलाई आयातले लय समाएको दाबी गरे पनि पुनः गिरावट आएको छ।  

‘दशैँअगाडि आयातमा करिब ४ प्रतिशतले गिरावट आएको छ’, भन्सार विभागका एक अधिकारीले भने, ‘चाडपर्वको समयमा बढ्नुपर्नेमा आयात घटेकोमा राजस्वको हिसाबले चिन्ताको विषय हो।’

असोजमा करिब ४ प्रतिशत आयात घट्नुमा उत्तरी दुवै नाका बन्द र दशैँको विदाले अघिल्ला वर्षको तुलनामा घटेको ती अधिकारीले बताए। 

‘दशैँका लागि बुकिङ भएका गाडी उत्तरी नाकाबाट आउन पाएनन्’, उनले भने, ‘रसुवा नाकामा चीनतर्फ समस्या छ भने तातोपानी नाकामा नेपालतर्फ नै रोकिएको छ। त्यसको असर भन्सार राजस्व संकलनमा भएको देखिन्छ।’

नेपालको अर्थतन्त्र आयातित वस्तुमा नै आधारित रहेको छ। चाडपर्वको समयमा खपत नै कम भएको हो वा अवैध आयात बढेको भन्ने एकीन तथ्यांक भने छैन। 

त्यस्तै, निर्यात गत वर्ष नै २.२६ प्रतिशतले घटेकोमा अहिले त्यसमा पनि गिरावट आएको विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad