कारोबार


चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोहीले स्वागत

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोहीले स्वागत

नेपालखबर
असोज २७, २०८१ आइतबार १४:५९, चितवन

निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो। विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो।  

कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे।

उनले भने, ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरू अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो।’

उनको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए।

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गरे।

‘बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत गर्‍यौँ’ उनले भने, ‘बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही, मोही नै रुचाए।’

विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न गएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउँछन्।

कृषिमा स्नातकोत्तर गरेका उनले भने, ‘धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो। दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो।’

सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उनको सुझाव छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउँछन्।उनको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरूले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन्।

जिल्लाका तीनवटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन्। भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन्।

जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन्। तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन्। बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ।

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरुले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउँछन्। सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उनले पछिल्लो समय माग बढ्दै गएको बताउँछन्।

विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उनले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिए। वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरुमा मोहीको माग अधिक हुने गरेको  छ।

उनले भने, ‘विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ।’

यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उनी बताउँछन्।

 फूलपातीदेखि दसमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उनले जानकारी दिए। दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad