उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरेकाे छ।
काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो। ‘नो हर्न’लाई अभियानकै रुपमा सञ्चालन गरी पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम सञ्चालन, नो हर्न स्टिकर टाँस लगायत विविध कार्यक्रम गरी हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो ।
सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा केहि वृद्धि भएपश्चात् कडाइका साथ कारबाही समेत ट्राफिक प्रहरीले गर्दै आएको छ।
सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर वृद्धि हुने ध्वनि प्रदूषणलाई निरुत्साहित गरी प्रदुषण कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए।
जथाभावी हर्न बजाउँदा पैदलयात्री विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाई समेत ध्यानमा राखी नियमित निग्रानी र कारबाही गरिँदै आएको डीआईजी बोहराले बताए।
पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन सुरु गरेका छन्।
गत आ.व.०८०/८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यस वर्ष समेत नौ हजार आठ सय तिस सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ।
सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागि ६० डेसिबलसम्मको ध्वनि स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।
ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढी धवनी प्रदूषण गर्ने गरेको छ ।
दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरु भएको स्थानमा अतिआवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया