कारोबार


भ्रमण वर्ष २०२० सचिवालय तत्काल खारेज नगरिने

भ्रमण वर्ष २०२० सचिवालय तत्काल खारेज नगरिने

नेपालखबर
फागुन २५, २०७६ आइतबार ८:२३,

सरकारले भ्रमण वर्ष २०२० सचिवालय केही समय खारेज नगर्ने भएको छ। केही समयको लागि सचिवालयले केही औपचारिक कार्यक्रम नगरे पनि तत्काल स्थगन नहुने भएको हो।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर सरकारले भ्रमणवर्षका कार्यक्रम स्थगन गरेको हो। गत हप्ता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले तत्काललाई भ्रमणवर्ष २०२० स्थगन गर्न सुझाव दिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्नको लागि स्थापना गरिएको सचिवालय स्थापना गरेको थियो। भ्रमण वर्ष २०२० स्थगन हुँदा सचिवालय के हुने भन्ने प्रश्न उठेको छ। तर मन्त्रालयले तत्काल सचिवालय स्थगन गर्ने तयारी नभएको बताएको छ।

‘मन्त्रिपरिषदले भ्रमण वर्ष स्थगन गर्ने औपचारिक घोषणा गरेको मलाई जानकारी छैन’, मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले भने, ‘उपप्रधानमन्त्रीको नेतृत्वले औपचारिक कार्यक्रम नगर्नु भनेको छ।’

सचिव अधिकारीले भ्रमण वर्ष सचिवालयलाई औपचारिक कार्यक्रम नगर्न निर्देशन दिएको बताए।

‘औपचारिक कार्यक्रम नभए पनि सचिवालय तत्काल खारेज हुँदैन। सानो टिमले काम गरिरहन्छ’, उनले भने।

भ्रमण वर्ष सचिवालयले मन्त्रालयबाट कुनै निर्देशन नआएकाले सचिवालयभित्रको काम गरिरहेको बताएको छ।

सचिवालयका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले पनि मन्त्रालयको यसबारे सर्कुलर नआएको जानकारी दिए। उनले नेपालखबरसँग भने, ‘बाहिर कार्यक्रम गरेका छैनौं तर हालसम्म भएका कामहरुको रिपोर्ट तयार गरिरहेका छौँ।’

सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो। भ्रमणवर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ कात्तिक १६ गते उद्योगी सुरज वैद्यलाई ३ वर्षको लागि कार्यक्रम संयोजकमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad