ad ad

कारोबार


नेपालमा हाइड्रोजनको भविष्यबारे राष्ट्रपतिले गरे विज्ञसँग छलफल

नेपालमा हाइड्रोजनको भविष्यबारे राष्ट्रपतिले गरे विज्ञसँग छलफल

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १७:१८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं विश्वविद्यालय (केयू)का हाइड्रोजन ल्याबका प्रतिनिधिहरुसँग हरित हाइड्रोजन विकासको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरूबारे छलफल गरेका छन्। 

देशको हरित ऊर्जा पहललाई अघि बढाउने महत्त्वपूर्ण कदमको रूपमा उक्त छलफल भएको बताइएको छ। 

छलफलमा विश्वव्यापी अभ्यासहरूसँग नेपालको प्रयासहरूलाई मिलाउनको लागि चाहिने एक रणनीतिक मार्गचित्र समावेश गरिएको थियो।

राष्ट्रपति कार्यालयमा सम्पन्न उक्त बैठकमा राष्ट्रपति कार्यालयका सचिव  नारायण प्रसाद शर्मा दुवाडी, सहसचिव लगायत अन्य पदाधिकारीहरु तथा केयूका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख सहप्रध्यापक डा. बिराज सिंह थापा,  प्राज्ञिक-औद्योगिक सहकार्यका संयोजक डा. राम लामा, पीएचडी स्कलर ई. लक्ष्मण लामा र परियोजना ईन्जिनियर ई. नितेश यादव सहभागी थिए। 

केयूको तर्फबाट सहप्रध्यापक डा. बिराज सिंह थापाले नेपालमा हरित हाइड्रोजन अनुसन्धान र विकासमा भएको प्रगतिबारे प्रस्तुति दिएका थिए। उनले नेपालको जलस्रोतहरूको प्रचुरता र जलविद्युतबाट उत्पन्न अतिरिक्त विद्युतबाट हुनसक्ने लाभहरुबारे जानकारी गराएका थिए।

त्यस्तै, हिमालयको शुद्ध पानी प्रयोग गरी नेपालमा संसारकै सस्तो हरित हाइड्रोजन उत्पादन गर्न सकिने र यसले नेपाललाई विश्वव्यापी हाइड्रोजन अर्थतन्त्रमा प्रमुख खेलाडीको रूपमा स्थान दिन सक्ने कुरामा उनले जोड दिएका थिए। यसका अतिरिक्त, डा. राम लामाले हाइड्रोजनको महत्त्व र यसले जीवाश्म इन्धनको प्रयोगलाई घटाउन कस्तो भूमिका खेल्न सक्छ भन्ने बारेमा जनचेतना जगाउन विश्वविद्यालयले केही पहलहरु गरिसकेको बताए ।

तर अब नेपाल सरकारले यस क्षेत्रमा अनुसन्धान र विकासका लागि तथा यस क्षेत्रसँग सम्बन्धित अग्रगामी व्यवसाय थालनि गर्नका लागि बजेट विनियोजन गर्नुपर्ने कुरामा जोड दिए । यस बैठकमा हरित हाइड्रोजन उद्योगलाई समर्थन गर्न, हरित हाइड्रोजन नीति, २०८० ले परिकल्पना गरे अनुसार एक अधिकार सम्पन्न संस्था स्थापना हुनुपर्ने र सो संस्थाले आवश्यक नीतिगत व्यवस्था गर्नु पर्ने कुरामा समेत छलफल भएको थियो।

विज्ञहरुले यस्तो संस्था स्थापना भए पश्चात मात्र हरित हाइड्रोजन क्षेत्रको विकास हुन सक्ने बताएका छन्। यसबाट नयाँ आर्थिक अवसरहरू सिर्जना हुने र नेपालको दिगो विकासका लक्ष्यहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपतिले छलफलमा गहिरो चासो व्यक्त गर्दै हाइड्रोजनले विश्वव्यापी दिगोपन लक्ष्यहरूप्रति नेपालको प्रतिबद्धतालाई पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस सम्बन्धि आगामी कोप २९ सम्मेलनमा कार्बन तटस्थता हासिल गर्न हाइड्रोजनको प्रयोगलाई महत्वपूर्ण अवयवको रूपमा प्रवर्द्धन गर्ने बताए। उनले नेपालको दिगो भविष्यप्रतिको प्रतिबद्धता औंल्याउँदै हाइड्रोजन प्रविधिको विकासमा अन्य राष्ट्रहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। 

त्यस्तै, सचिव नारायण प्रसाद शर्मा दुवाडीले राष्ट्रपति कार्यालयले समन्वयकारी निकायको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै हाइड्रोजन क्षेत्रको विकासका लागि आवश्यक सहयोग सुनिश्चित गर्न सम्बद्ध मन्त्रालयहरू र अधिकारीहरूसँग समन्वय गर्ने बताए। 

राष्ट्रको शीर्ष कार्यालयबाट भएको यो समर्थनलाई हरित हाइड्रोजन क्षेत्रमा थप विकासको लागि एक बलियो प्रेरणाको रूपमा हेरिएको छ।

विज्ञहरूले यो बैठकलाई नेपालको ऊर्जा क्षेत्रमा एक महत्वपूर्ण क्षणका रूपमा लिएका छन्, जसले दिगो र नवप्रवर्तनीय ऊर्जा समाधानतर्फको यात्रामा एउटा निर्णायक कदमको संकेत गर्दछ। 

उचित नीति र रणनीतिक पहलहरूसँगै, नेपालले आफ्नो प्राकृतिक स्रोतहरूलाई उपयोग गरेर हरित हाइड्रोजन उत्पादनमा शिर्ष स्थान बनाउन सक्ने र यसबाट राष्ट्रिय र क्षेत्रीय साझेदारहरूलाई लाभ पुर्‍याउने राम्रो सम्भावना देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .