उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विद्युत् उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नेभन्दा पनि आन्तरिक खपत बढाउनुपर्ने बताएका छन्।
नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले खपत बढाउने योजनामा ध्यान दिनुपर्ने बताएका हुन्।
ऊर्जा खपत गर्ने स्वदेशी उद्योग र विदेशी कम्पनीलाई विभिन्न सुविधा दिएर भित्र्याउन सकिने बताए।
प्राकृतिक सम्पत्तिलाई समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताउँदै उनले नेपालीले नदी प्रणालीलाई योजनाबद्ध प्रयोग गर्न चुकेको स्वीकार गरे।
अहिले उत्पादनमा बढी ध्यान दिएकोमा अब प्रसारणलाइनलाई राज्यले प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘ऊर्जामा लगानीगर्दा उचित नाफा हुन्छ भन्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘सरकारले बनाउने आयोजनामा विदेशी लगानी भित्रिने तर निजी क्षेत्रले पर्याप्त मात्रमा ल्याउन नसकेको अवस्था सुधार गर्नुपर्छ।’
इप्पानका अध्यक्ष गणेश कार्कीले ३१२० सञ्चालन रहेको बताउँदै २८ हजार ५०० मेगावट उत्पादन गर्न ६१ खर्ब लगानी आवश्यक पर्ने देखिएको बताए।
बैंक तथा वित्तीय संस्थाले २० मेगावाटभन्दा तल लगानी गर्न छोडेको भन्दै उनले मन्त्रीको ध्यानाकर्षण गराए।
‘विदेशी लगानीकर्ताले नेपाली बैंकको ऋण प्रयोग गर्दा साना लगानीकर्ताले गर्न पाएका छैनन्’, अध्यक्ष कार्कीले भने, ‘नेपाली लगानीकर्तालाई पनि बैंकले ऋण दिन सहज बनाउन पहल आवश्यक छ।’
डोल्मा इम्प्याक्ट फन्डका प्रबन्धनिर्देशक विद्यावारिधि सिग्देलले ३०० मिलियन डलरमा ऊर्जा क्षेत्रमा लगानी गर्ने बताए। फन्डले हाल नेपालमा ७५ मेगावाटको परियोजनामा लगानी गरिरहेको उनले जानकारी दिए।
Shares

प्रतिक्रिया