ad ad

कारोबार


विदेशी मुद्रा सञ्चिति झण्डै साढे २० खर्ब, १३ महिनाको आयात धान्ने

खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ८६ अर्बले बचतमा
विदेशी मुद्रा सञ्चिति झण्डै साढे २० खर्ब, १३ महिनाको आयात धान्ने

नेपालखबर
भदौ २, २०८१ आइतबार १४:३५, काठमाडौँ

नेपालको विदेशी मुद्रा सञ्चिति २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि भएको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्धि भई १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १९२ अर्ब ५५ करोड पुगेको छ। 

२०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

१३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए।

बाह्य लगानी स्थिति
त्यसैगरी २०८१ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ। 

फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ८६ अर्ब ३८ करोडले बचतमा रहेको छ। २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु.१७७ अर्ब २ करोडले घाटामा रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .