कारोबार


चीनको तियान्जिन पोर्टबाट तेस्रो मुलुकसँगको आधा व्यापार गर्न प्रस्ताव

चीनको तियान्जिन पोर्टबाट तेस्रो मुलुकसँगको आधा व्यापार गर्न प्रस्ताव

दीपक भट्ट
फागुन १९, २०७६ सोमबार १३:५,

विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि सम्मिलित टोलीले गरेको एक अध्ययन प्रतिवेदनले तेस्रो मुलुकसँग हुने नेपालको अन्तर्राष्ट्रिय व्यापारको आधा अंश चीनको तियान्जिन पोर्ट (बन्दरगाह) मार्फत् गर्नु उपयुक्त हुने सुझाव दिएको छ।

अहिले फैलिरहेको कोरोना भाइरसको नियन्त्रणपछि सो योजना अघि बढाउन प्रतिवेदनले सुझाएको छ।

नेपालको तेस्रो मुलुकसँगको अधिकांश व्यापार कोलकत्तास्थित हल्दिया पोर्ट (बन्दरगाह) बाट हुँदैआएको छ।

केहि वर्षदेखि भारतको विशखापटनम पोर्ट पनि प्रयोग गर्न थालेपछि त्यो मार्गबाट पनि न्यूनरुपमा नेपालको व्यापार हुँदै आएको छ।

भारतमैं निर्भर रहेको तेस्रो मुलुकसँगको नेपालको व्यापार चीन तर्फको पोर्टहरु पनि प्रयोग गर्न पाउने गरि चीनसँग व्यापार तथा पारवहन सम्झौता भैसकको छ।

सो सम्झौता जनवरी १ देखि कार्यान्वयनमा आइसके पनि सो अनुसार व्यापार भने हुनसकेको छैन।

चीनसँग द्विपक्षीय सम्झौता भएपनि सुरुमा व्यापारीहरुले सो रुटबाट व्यापारहरु सुरुमा अलमलिइरहेकै बेला जनवारी २८ देखि कोराना भाइरसको संक्रमण फैलिएपछि नेपाल चीन नाका नै बन्द गरियो।

यसैबीच चीनको पोर्ट प्रयोगसम्बन्धी एक प्रतिवेदन तयार भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका प्रतिनिधि र पारवहन विज्ञले तयार पारेको उक्त प्रतिवेदनले तेस्रो मुलुकसँगको व्यपार चीनबाट गराउन सहज रहेको उल्लेख गरेको छ।

सुरुमा व्यापारीलाई अनुदान दिएरै भएपनि तेस्रो मुलुकसँगको व्यापार सोहि पोर्टबाट गराउनुपर्ने सुझावसहित प्रतिवेदन तयार गरिएको हो।

यहि फागुन १३ गते अन्तिम रुप दिइएको उक्त प्रतिवेदनमा पोर्टहरुको प्रयोग र त्यसमा लाग्ने लागतको विवरण समेत उल्लेख गरिएको छ।

तेस्रो मुलुकसँग व्यापार गर्ने उद्देश्यले नेपालले चीनका चार सामुद्रिक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने गरी नेपाल र चीनबीच १७ बैशाखमा द्विपक्षीय सम्झौता भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा रहेका बेला उनका समकक्षी सी चिनफिङको उपस्थितिमा सो सम्झौतामा भएको हो।

दुई देशबीच भएको सम्झौताअनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनको तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने छ।

सम्झौताअनुसार यो कार्यान्वयनमा नै ल्याउनका लागि स्थलगत भ्रमणमै गएर अध्ययन गरिएको सो टोलिका एक सदस्यले बताए।

उक्त अध्ययन प्रतिवेदनले ती सातमध्ये पनि नेपालका लागि सबैभन्दा उपयोगी तियान्जिन पोर्ट हुने देखाएको छ।

ती सदस्यका अनुसार तियान्जिन पोर्ट प्रयोग गरेर आयात निर्यात गर्दा सबैभन्दा कम लागत लाग्ने देखिएको छ। तियान्जिन पोर्ट हुँदै चीनको सुब्खा बन्दरगाहबाट बस्तु आयात गर्दा समय तथा लागत दुबै कम पर्ने देखिएको अध्ययन समितिका एक अधिकारीले नेपाखबरलाई जानाकारी दिए।

उनकाअनुसार लान्जाओमा ६ वटा रेलवेको सञ्जाल १८ वटा मुलुकसँग जोडिसकेको छ। चीनबाट शुरु हुने कार्गो लान्जाओ सुक्खा बन्दरगाह हुँदै नेपाल आउन सक्ने कन्टेनरको संख्या अहिले उक्त स्थानमा ३ सय रहेको प्रतिवेदनमा उल्लेख छ।

तियान्जिनदेखि लाञ्जाओसम्म १६ सय किलोमिटरमा ढुवानीको माध्यम रेल हो। तियान्जिनदेखि लान्जाओसम्मको भाडा प्रतिकन्टेनर ७ हजार आरएमबी (करिब १ लाख १५ हजार) पर्छ। सेन्जेनदेखि लान्जाओको भाडादर ११ हजार आरएमबी छ।

तियान्जिनदेखि ल्हासा ३९ सय किलोमिटरको दूरी रेलबाट पार गर्न सकिन्छ। समग्रमा तियान्जेनदेखि रसुवागढीसम्मको लागत प्रतिकन्टेनर १० हजार ३ सय आरएमबी पर्ने प्रतिवेदनमा उल्लेख छ। चीनकै अरु पोर्ट प्रयोग गर्ने हो भने केहि बढि लागत पर्ने देखिएको छ।

ती सदस्यका अनुसार तियान्जिनको यो लागत भारतको हल्दिया पोर्टकै हाराहारी हो। यदि व्यापारीहरुले यसलाई पनि बढि मान्छन् भने सरकारले अनुदान दिएर भए पनि प्रोत्साहन गर्नुपर्ने प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

त्यसैगरि, व्यापारीहरु सबै हिसावमा सकरात्मक देखिए सरकार र व्यापारीको समन्वयमा कोरोना भाइरसको नियन्त्रणपछि तेस्रो मुलुकसँग हुने आधा व्यापार तियान्जिनबाट गराउने योजना समेत अघि बढाउन सो प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad