ad ad

कारोबार


विश्व प्रसिद्ध आईबीएमको विद्यालय कार्यक्रम नेपालमा, उद्यमी बन्न सक्छन् प्लसटुका विद्यार्थी

विश्व प्रसिद्ध आईबीएमको विद्यालय कार्यक्रम नेपालमा, उद्यमी बन्न सक्छन् प्लसटुका विद्यार्थी

नेपालखबर
साउन ३, २०८१ बिहिबार २२:३, काठमाडौँ

विश्वव्यापी रुपमा प्रविधिमा नेतृत्व गरिरहेको आईबीएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम नेपालमा पनि ल्याइएको छ।

भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षाका विद्यार्थीहरुका लागि तयार गरिएको आईबीएमको यो कार्यक्रम नेपालमा लिएर आएको हो।

आर्टिफिसियल इन्टेलिजेन्स (र मेशिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नविनतम सूचना प्रविधिका क्षेत्रहरु समेटेर नेपाल लगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरु समावेश छन्।

यो अत्याधुनिक तथा समय सापेक्ष कोर्सको डिजाइन तथा निर्माण गरेको आईबीएम प्रविधि कम्पनीहरु मध्य सवैभन्दा बढी (एक लाख २२ हजार भन्दा बढी) यूएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो।

सन् १९८१ मा विश्वमै पहिलो मध्यको पर्सनल कम्प्युटर बजारमा ल्याएको आईबीएमले संसारको सबैभन्दा उच्च गतिका सुपर कम्प्युटरहरु निर्माण गरेको छ। एआइ र मेशिन लर्निङ्ग लक्षित वाट्सन सुपर कम्प्युटर निर्माण गरेर एआइ क्षेत्रमा नेतृत्व गरेको आईबीएम हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका एटिएम, डिरयाम, फ्लपी डिस्क, हार्ड डिस्क ड्राइभ लगायत अनगिन्ति प्रविधिको समेत आविष्कारक हो। यस कम्पनीका ६ जना बहालवाला तथा पूर्व कर्मचारीले विभिन्न आविष्कारका लागि ६ वटा विश्वप्रसिद्ध नोबेल पुरस्कार समेत पाइसकेका छन्।

‘यस्तो विश्वप्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ एसियन इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठी भन्छन्, ‘अहिले सूचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतहरु पनि देखापरेका छन्। हामीले हाम्रा बालबालिकालाई यो चुनौतीको सामना गर्न सक्ने बनाउन पनि आईबीएमको यो कार्यक्रम आवश्यक महसुस भयो।’

आईबीएमको यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्षहरु राखिएका छन्। पहिलो एक्सप्लोरर, दोश्रो डिस्कभरर र तेश्रो इनोभेटर। एक्सप्लोररको नारा मै ‘प्रविधिलाई माया गर्नुस्’ भनिएको छ। यो कार्यक्रमभित्र विश्वस्तरको सिकाई सामाग्रीसहित आईबीएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीबाट गेष्ट लेक्चररको पनि व्यवस्था पनि गरिएको छ।

त्यस्तै डिस्कभररको उद्देश्य विद्यार्थीहरुलाई प्रोगामिङमा अब्बल बनाउने छ। यसभित्र विश्वस्तरको सिकाई सामाग्री, आईबीएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीका गेष्ट लेक्चररसहित भर्चुअल ल्याब का साथै सामुहिक गतिविधि लगायतका कृयाकलापहरु राखिएको छ। त्यसपछि सबैभन्दा माथिल्लो तहको कोर्स छ– इनोभेटर। यसको नारा नै छ– ‘तपाई उद्यमीजसरी सोच्नुहोस्।’

यो कार्यक्रमको लक्ष्य एउटा विद्यार्थी प्लस टुमा पुगिसक्दा बजारमा नयाँ र सिर्जनशिल उद्यमीका रुपमा स्थापित हुन सकोस् भन्ने छ। एक्सप्लोरर, डिस्कभरर र इनोभेटरभित्र पनि सामान्यदेखि एडभान्ससम्मका कोर्स छन्। त्यसभित्र हप्तामा एक दिन एक देखि डेढ घन्टा पढाउनेगरी ४० देखि ६० घन्टासम्मको कोर्स छ।

‘अहिले विश्वभर एआइ अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (मेशिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन सबैभन्दा ठूला चुनौती र सम्भावना बोकेका क्षेत्रहरुका रुपमा चर्चामा छन्,’ त्रिपाठी भन्छन्, ‘नेपालमा पनि निकट भविश्यमै यी प्रविधिहरुको प्रयोग व्यापक हुँदैछ। विश्व वजारमा त विभिन्न प्रक्षेपणअनुसार सन् २०३० सम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), साइबर सुरक्षा र ब्लक चेन प्रविधिहरुको आकार क्रमशः १०.८ खर्ब डलर, ५ सय अर्ब डलर र १.२ खर्ब डलरको हुने अनुमान गरिएको छ। हाम्रो भावी पिढीं यो अवसरबाट बञ्चित पनि नहोस् र उसले नवीन प्रविधिहरुको प्रयोग सुरक्षित, विश्वसनीय र नैतिक हिसाबले गर्न सकोस् भन्ने हेतुले पनि हामीले यो कोर्स नेपालमा लिएर आएका हौं।’

आईबीएम इनोभेसन सेन्टर फर एडुकेशन का व्यापार प्रबर्द्धन प्रमुख हरि रामासुब्रमन्यम ले नेपालका विद्यार्थीका लागि यो कोर्स सुरु गर्न पाउँदा खुशी प्रकट गरे।

‘यो कोर्स पाठ्यक्रममा आधारित नभई इण्डष्ट्रीमा आधारित भएर तयार गरिएको हो,’ उनले भने, ‘पछिल्लो समय सुचना प्रविधिको क्षेत्रमा देखिएका नयाँ नयाँ प्रवृत्ति र निकट भविष्यमा यसले लिनसक्ने दिशा र त्यसले सिर्जना गर्ने जनशक्तिको आवश्यकतालाई हेरेर तयार गरिएको हो।’

कक्षा ५ देखि नै आईबीएमको यो कोर्स लिने विद्यार्थी कक्षा १२ सम्म पुगिसक्दा निकै स्मार्ट भइसक्ने र भविश्यको श्रम बजारको लागि समेत तयार हुने उनी बताउँछन्।

अध्यक्ष त्रिपाठीका अनुसार यो कोर्स स्कुलमा कुनै थप लगानी बिनानै उपलब्ध पूर्वाधार एवम् जनशक्तिका आधारमा संचालन गर्न सकिनेछ। ७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट यसको कक्षा संचालन गरिनेगरी कोर्स डिजाइन गरिएको छ।

भारतको प्रतिष्ठित टेक–एडु कम्पनी ट्रान्सन्यूरन टेक्नोलोजिजले आईबीएमको यो कार्यक्रमलाई आफ्नो सिकाइ व्यवस्थापन प्रणालीमा राखेर प्रवर्द्धन गरिरहेको छ। ट्रान्सन्यूरनले आफ्नो सिकाइ व्यवस्थापन प्रणाली मार्फत ३ करोड भन्दा बढि प्रयोगकर्ताहरु १ लाख भन्दा बढी तालिम केन्द्रहरु तथा ५० हजार भन्दा बढी रोजगारदाता कम्पनीहरुलाई व्यवस्थापन गरिरहेको छ।

ट्रान्सन्यूरनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिबम शर्माले भारत, नेपाल जस्ता विकासशील देशमा रहेको सीप र श्रमबजार बिचको खाडल पुर्न यस्ता कार्यक्रमहरु अत्यावश्यक रहेको बताए।

आईबीएमको यो विश्वस्तरको कार्यक्रम नेपालमा ल्याएको एसियन इ–लर्निङले यी कोर्षहरु प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्यमा देशमा सामुदायिक विद्यालयहरुमा समेत पुर्याउने लक्ष्य लिएको छ।

आईबीएम विद्यालय कार्यक्रम नेपालका सल्लाकार डा. सुभाष प्याकुरेलले स्कुलका बालबालिकालाई एकदमै उपयुक्त कार्यक्रम नेपालमा भित्रिएको बताए।

प्लस टुका विद्यार्थीलाई समेत लक्षित गरेर आईबीएमका यी कोर्षहरु तयार गरिएको र आईबीएम विद्यालय कार्यक्रम लागू गर्न इच्छुक स्कुल तथा प्लस टु कलेजहरुको संख्या बढिरहेकाले आजको प्रेस मिट आयोजना गरिएको प्रबन्ध निर्देशक त्रिपाठीले बताए ।

एन प्याबसनका निवर्तमान अध्यक्ष रितुराज सापकोटाले आईबीएमको यो कार्यक्रम बढीभन्दा बढी विद्यार्थीमा पुर्याउनुपर्ने बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .