ad ad

कारोबार


पर्यटन व्यवसायकै प्रेरणा अम्बिका, जसले भित्र्याएकी थिइन् होटलमा ‘हेरिटेज शैली’

पर्यटन व्यवसायकै प्रेरणा अम्बिका, जसले भित्र्याएकी थिइन् होटलमा ‘हेरिटेज शैली’

स्वर्गीय अम्बिका श्रेष्ठ।


सम्झना घिमिरे
साउन ३, २०८१ बिहिबार १६:४९, काठमाडौँ

नेपाली पर्यटन क्षेत्रले बिहीबार होटल व्यवसायकी एक हस्ती अम्बिका श्रेष्ठलाई गुमाएको छ। 

९० वर्ष पार गरिसक्दा पनि सक्रिय उनी द द्वारिकाज होटलकी सञ्चालक मात्रै थिइनन्, हेरिटेज शैली भित्र्याएर नेपाली पर्यटनलाई नयाँ आयाम दिने सफल महिला उद्यमी थिइन्। 

सन १९५५ मा सिक्किमबाट द्वारिकादास श्रेष्ठको बेहुली बनेर नेपाल भित्रिएकी थिइन् अम्बिका। जसै समय बित्दै गयो, उनी नेपालको पर्यटन क्षेत्रलाई चिनाउने एउटा विम्ब बन्न पुगिन्। 

पर्यटन अर्थात् होटल क्षेत्रमा उनले भित्र्याएको हेरिटेज शैली पछ्याएर अहिले धेरै व्यवसायीले नेपालको संस्कृति चिनाउने गरी हेरिटेज शैलीमा होटल सञ्चालनमा ल्याएका छन्।

‘पर्यटन व्यवसायकै प्रेरणा’
पर्यटन व्यवसायीहरू उनलाई प्रेरणाको स्रोत मान्छन्। होटल एसोसिएसन, नेपाल (हान) का अध्यक्ष विनायक शाह श्रेष्ठलाई समग्र पर्यटन व्यवसायको आधारस्तम्भका रूपमा लिन्छन्।  

‘उहाँ पर्यटन व्यवसायीहरूको प्रेरणाको स्रोत हुनुहुन्छ’, शाहले बिहीबार स्वर्गीय श्रेष्ठलाई सम्झिए, ‘हेरिटेज होटलमा मात्रै नभएर समग्र पर्यटन व्यवसायको आधार स्तम्भको रूपमा उहाँ रहदै आउनुभएको थियो।’ 

सन् १९७७ सालमा श्रीमान द्वारिका दास श्रेष्ठको सपना पूरा गर्नकै लागि व्यवसायमा होमिएकी थिइन् उनी। 

सन् १९९० को दशकमै संस्कृति बचाउँदै व्यवसाय गर्नुपर्छ भन्ने चेत उनमा थियो। करिब ३० वर्षको उमेरमा श्रेष्ठले श्रीमानको सपना साकार पार्दै ‘हेरिटेज होटल’को नयाँ आयाम थपिन्। जुन आज द द्वारिकाज होटलका नामले प्रसिद्ध छ। 

जीवनकालमा उनी गोर्खा दक्षिण बाहु चौथो, त्रिशक्तिपट्ट, स्पनेबाट गोल्डेन माइकजस्ता विविध पदकले पनि सम्मानित भइन्। जुन उनलाई पर्यटन क्षेत्र फस्टाउन खेलेको भूमिकाकै देन थियो। 

उनी केवल व्यवसायी मात्र थिइनन्, सम्पदा र संस्कृति क्षेत्रकी अभियन्ता र महिला उत्थानको नेतृत्वकर्ता पनि थिइन्। सम्पदा संरक्षणमा आफ्नो जीवनकालको ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसन विमिन नेपालकी संस्थापक अध्यक्ष थिइन् भने नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत बनेकी थिइन्। 

द्वारिकाज होटल

श्रीमानको लगावलाई साथ दिइन्, सपना पूरा गरिन्
सन् १९९५ मा नेपाल आएकी श्रेष्ठ सन् १९६९ मा नेपालको प्रथम महिला जेसिस अध्यक्ष बनेकी थिइन्। संस्कृति र कलाप्रति औधी लगाव राख्थे उनका श्रीमान् द्वारिका दास।

उनी मिल्काइएका पुराना चित्रजडित वस्तुहरू संकलन गर्थे। पेसाले बडाहाकिम उनी नेपाली सम्पदा विश्वलाई चिनाउनुपर्छ भन्ने मान्यता राख्थे। उनकै मान्यता र सपनालाई अम्बिकाले जीवनभर पछ्याइरहिन्। फलतः नेपालको पहिलो हेरिटेज होटलका रुपमा सन् १९७७ मा द द्वारिकाजको स्थापना भयो। 

सन् १९७२ मा राजा वीरेन्द्रको राज्याभिषेकमा आएका पाहुना बस्ने होटलको खट्किएको अभाव देखेकी अम्बिकाले घरलाई नै होटल बनाउने संकल्प गरेकी थिइन्। अन्ततः श्रीमानकै सहयोगमा १९७७ सालमा द्वारिकाज होटल सञ्चालनमा ल्याइन्। श्रीमानले संकलन गरेका पुराना काठहरूलाई पुनर्जीवन दिँदै उनले हाल बत्तीसपुतलीमा रहेको आफ्नै घरलाई होटलको रूपमा विकास गरेकी हुन्।  

झण्डै १ वर्षअघि नेपालखबरसँगको कुराकानीमा उनले श्रीमान् द्वारिकाले सुनाएको सन् १९५२ तिरको एक प्रसंग खोलेकी थिइन्। 

‘त्यतिखेरको एक बिहान द्वारिका टुँडिखेलमा युवाहरूलाई जिम सिकाएर फर्किँदै थिए। जाडोको समय। हनुमानढोकाअगाडिको डबलीमा दुई जनाले विभिन्न चित्र कुँदिएका काठका थाम जलाएर आगो तापिरहेका थिए।’

‘उहाँले म नयाँ दिन्छु, यो पुरानो काठ मलाई देऊ भन्दा समेत पत्याएनछन्’, अम्बिकाले सुनाएकी थिइन्, ‘उहाँ (श्रीमान)ले नयाँ काठ दिएर ती पुराना बुट्टा कुँदिएका काठ लिएर आउनुभयो। यही कारणले उहाँलाई पछिसम्म पनि पागल भन्ने गर्थे रे!’ 

द्वारिकाज होटल पूर्ण सञ्चालनमा नआउँदै सन् १९९२ मा श्रीमानको मृत्यु भएको थियो। त्यसपछि उनी आफैँले द्वारिकाजलाई अघि बढाएकी थिइन्। 

व्यावसायिक रूपमा प्रखर रुपमा उत्रिने उनी हेरिटेज संरक्षणमा पनि उत्तिकै सक्रिय रहिन्। गोठबाट सुरु भएको हेरिटेज होटल द्वारिकाज अहिले ग्रुप अफ कम्पनी बनेको छ। धुलिखेलमा लक्जरियस रिसोर्ट सञ्चालनमा छ।

अम्बिका छोरी संगीता र नातिहरूसँग बस्दै आएकी थिइन्। पछिल्लो समयमा निमोनिया र बाथबाट पीडित उनी दुई महिनायता उपचाररत थिइन्। बिहीबार ललितपुरको मेडिसिटीमा उनको ९२ वर्षको उमेरमा मृत्यु भएको हो। 

नेपालखबर अर्काइभबाट - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .