ad ad

कारोबार


अमेरिकामा दोषी ठहर भए निर्वासित जीवन बिताइरहेका चिनियाँ अर्बपति

अमेरिकामा दोषी ठहर भए निर्वासित जीवन बिताइरहेका चिनियाँ अर्बपति

चीनबाट निष्काशित अर्बपति गुओ वेंगुई अमेरिकामा दोषी ठहर भएका छन्। तस्बिर : रोयटर्स


नेपालखबर
साउन २, २०८१ बुधबार १४:७, काठमाडौँ

चीनबाट निष्काशित अर्बपति गुओ वेंगुई अमेरिकामा दोषी ठहर भएका छन्। 

अमेरिकी संघीय अदालतले उनलाई समर्थकको १ अर्ब डलर बढी ठगी र धोखाधडीको आरोपमा मंगलबार दोषी ठहर गरेको सीएनएनले जनाएको छ। 

१२ आरोपमध्ये ९ वटामा गुओ दोषी ठहर भएका छन्। सेयर बढाउन ठगी गरेको, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा माइल्स गुओका रुपमा परिचित उनीमाथि आरोप लागेको थियो। 

योसँगै उनले दशकौँ जेल बस्नुपर्ने सजाय पाउने सम्भावना छ। आगामी नोभेम्बर १९ मा सजाय तोकिनेछ। 

गुओले धेरै अन्तर्सम्बन्धित धोखाधडीका स्किमहरु चलाएको र बफादार समर्थकले मिहिनेतले कमाएको पैसामा खेलबाड गरेको बताइएको छ। उनी निर्वासित जीवन बिताइरहेका थिए। उनको जीवनशैली पनि विलासी थियो। 

न्युयोर्कमा उनीविरुद्धका आरोपमा ७ हप्ते सुनुवाइ भएको थियो। गुओका वकिलहरुले यसबारे केही प्रतिक्रिया दिएनन्। दोषी ठहर भएसँगै उनका केही समर्थकमा रुवाबासी चलेको थियो। 

को हुन् गुओ? 
सन् २०१४ गुओ चीनबाट निर्वासित भएका थिए। उनले वरिष्ठ चिनियाँ अधिकारी र धनाढ्यहरुको काण्डको खुलासा गर्ने बताउँदै आएका थिए। यसबाहेक उनलाई अहिले राष्ट्रपतीय दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निकटस्थ स्टिभ ब्याननका साथी समेत हुन्। ब्यानन पनि यही महिनाको सुरुतिर संसदीय अनुसन्धानलाई असहयोग गरेको आरोपमा संघीय कारागार चलान भएका थिए। ब्याननलाई गुओले १० लाख डलर दिएको पनि खुलेको छ। 

आफ्ना अनलाइन समर्थकलाई आफ्नो व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्न हौस्याएर २०१८ र २०२३ को बीचमा १ अर्ब डलर बढी डुबाइदिएको गुओमाथि आरोप छ। सन् २०१७ मा हङकङ र चीन सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानसँगै उनको सम्पत्ति जफत गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .