कारोबार


रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने

रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ८:४२,

सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ।

रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ। मन्त्रिपरिषदबाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए। सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी छ। एक जना प्रमुखसहित रेल सञ्चालन र मर्मतलगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति आवश्यक छ। त्यससँगै प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको विभागले जनाएको छ।

उनले भने, ‘कम्पनीमा अहिले महानिर्देशक नभएकाले हामीले नै पदपूर्तिको प्रक्रिया अघि बढाएका छौँ।’ रेल सञ्चालनका लागि रेलमार्ग निर्माण सम्पन्न भइसकेको छ भने रेल सेट निर्माण सकिएको विभागले जनाएको छ।

भारतबाट हिँडेको रेल सेट झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ। सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो। सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उहाँले बताए। दुई सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने महानिर्देशक मिश्रले बताए।

सरकारले अहिले दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको विभागले जनाएको छ। हाल जयनगरबाट कुर्थासम्मको रेलमार्ग निर्माण सकिएकामा आगामी दिनमा यसलाई विजुलपुरासम्म विस्तार गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad