कारोबार


बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर

बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ८:४८,

नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ। भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका ग्यासका साना सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन। सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ। ‘उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास बिक्री भए÷नभएको अनुगमन गरिएको हो’, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्यास बिक्रेताको पसल अनुगमन गरेको थियो। ‘अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्यासका सिलिन्डर बिक्री गरेको पाइएको छ’, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, ‘उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिवाना गरेका छौँ। पुनः अनुगमन गरी निर्देशन पालना गरे/नगरेको ‘फलोअप’ पनि गर्नेछौँ ।

अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्यासका सिलिन्डरहरु तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताए। ‘अधिकांश ग्यास पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौँ’ उनले भने।

नेपालमा अनुमति नभएका साना ग्यास सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले बताए। ‘उपभोक्ताले पनि साना ग्यास सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन’, उनले भने।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए। नेपालमा ग्यासको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए। अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन। साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन्।

साना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था नेपालमा छैन। व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन्। ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad