ad ad

कारोबार


सुर्खेतको बुलबुले तालमा चल्नथाले मोटरबोट, प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क

सुर्खेतको बुलबुले तालमा चल्नथाले मोटरबोट, प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क

वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले तालमा मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर : रासस


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १२:३६, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ।

गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, “प्रदेशको विकासका लागि कृषि क्षेत्रको व्यवसायीकरण, घरेलु उद्योग र पर्यटन नै हो, बोटेबोरा कम्पनीले यहाँ मोटरबोट सञ्चालन गरेपछि पर्यटकीय गतिविधि पनि बढेको छ। प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्नेछ।”

उनले प्रदेशमा निजी क्षेत्रको लगानी अझ बढ्नुपर्नेमा पनि जोड दिए। 

कर्णाली प्रदेशलाई जहिले पनि दुःख र अप्ठ्यारोको पर्यायवाचीका रुपमा लिने गरिएको उल्लेख गर्दै उनले यो सोच बदल्न जरुरी रहेको बताए। यसका लागि पर्यटन क्षेत्रको विकास सबैभन्दा उपयुक्त विकल्प भएको उनको भनाइ छ।

उनले यसप्रकारको पर्यटनले सम्बन्धित गन्तव्यमा आर्थिक गतिविधि बढ्नुका साथै राजगारी सिर्जना हुने र विदेश जाने युवालाई स्वदेशमै रोक्न सकिने धारणा राखे।

सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल)ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताए। उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपैयाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिए।

बुलबुले ताल क्षेत्रमा प्रवेशका  लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपैयाँ लिँदै आएको छ। प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरापालिकाले वार्षिक ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने अवस्था आएको समेत उल्लेख गरे। 

मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए।

“मोटरबोट सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको छ । मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ आउनुभएको छ”, उनले भने। उनका अनुसार गत वैशाख १२ गतेयता ३० हजारभन्दा बढीले मोटरबोटको अनुभव लिइसकेका छन्।

“अहिलेसम्म मोटरबोट सञ्चालन राम्रोसँग भइरहेको छ, तर तालमा पानीको सतह कम भएको र साँझ नपर्दै पार्क बन्द हुने भएको समस्या भएको छ”, उनले भने, “तालमा पर्याप्त पानीको सुविधा उपलब्ध गराउन तथा पार्क अबेरसम्म खुला गर्ने विषयमा स्थानीय तहसम्म  हामीले पहल गरिरहेका छौँ, आशा छ चाँडै त्यो पनि पूरा हुनेछ।”

बोटेबोरा कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो। मृत अवस्थामा रहेको बुलबुले ताललाई कम्पनीले आफ्नै लगानीमा सफा गरेर मोटरबोट सञ्चालन गरेको जनाएको छ। 

कम्पनीका अनुसार ताल सफा गर्न हालसम्म आठ सय २० जना व्यक्ति खटिइसकेका छन्। कम्पनीले यसका लागि मात्रै २५ लाख रुपैयाँ लगानी भइसकेको ढकाल बताउँछन्। तालमा रहेको फोहोर सफा गरेपछि अहिले पानीको सतह केही कम भएको छ । तालमा पर्याप्त पानीको व्यवस्थाका लागि प्रयास जारी रहेको कम्पनीले जनाएको छ।

हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार मोटरबोट चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ बच्चा साथमा भएमा दुई सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .