चालू आर्थिक वर्ष सकिन १५ दिन मात्रै बाँकी रहँदा संघीय सरकारको बजेट चार खर्बभन्दा बढी खर्च बाँकी रहेको पाइएको छ। चालू आर्थिक वर्षको लागि सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा हालसम्म आठ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै खर्च भएको हो। महालेखा नियन्त्रकको कार्यालयले दिएको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको हालसम्ममा ६८ प्रतिशत मात्रै बजेट खर्च भएको हो।
यो वर्ष चालू खर्चको लागि सरकारले आठ खर्ब ४५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। हालसम्म छ खर्ब ४९ अर्ब अर्थात् ७६ प्रतिशत खर्च भएको छ। त्यस्तै पुँजीगत खच अर्थात् विकास निर्माणको लागि लागि सरकारले तीन खर्ब १३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकममध्ये एक खर्ब ६८ अर्ब रुपैयाँ मात्रै सरकारले खर्च गरेको छ। विकास निर्माणको लागि छुट्याएको झण्डै आधा रकम सरकारले खर्च गर्न नसकको तथ्याङ्कले देखाएको हो। वित्तीय व्यवस्थापनमा सरकारले ७६ अर्ब रुपैयाँ खर्च गरेको छ। त्यस्तै चालू आर्थिक वर्षमा सरकार राजस्व संकलनमा पनि लक्ष्यअनुसार काम गर्न सकेको छैन।
१५ दिनमा ६५ अर्ब खर्च
असार १ गतेसम्मको तथ्याङ्कअनुसार सरकारले आठ खर्ब २९ अर्ब रुपैयाँ खर्च गरेको थियो। त्यसमध्ये सरकारले चालू खर्च ६ खर्ब १० अर्ब रुपैयाँ, विकास निर्माण खर्च एक खर्ब ५२ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनमा ६६ अर्ब रुपैयाँ खर्चिएको हो। यो तथ्याङ्कअनुसार १५ दिन अवधिमा सरकारले ६५ अर्ब रुपैयाँ खर्च गरेको छ। विकास निर्माणको लागि मात्रै संघीय सरकारले १६ अर्ब रुपैयाँ खर्च गरेको हो।
राजस्व संकलनमा असफल
चालू आर्थिक वर्षमा सरकारले ८ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर हालसम्म सरकारले ६ खर्ब ४८ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ। चालू आर्थिक वर्षमा सरकारले ७८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। करबाट पाँच खर्ब ७८ अर्ब रुपैयाँ संकलन गरेमा गैरकर आम्दानी ६९ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया