ad ad

कारोबार


उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

नेपालखबर
फागुन ११, २०७६ आइतबार १०:३९,

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु अग्रवाल नियुक्त हुने भएका छन्। हाल अग्रवाल परिसंघमा उपाध्यक्ष पदमा छन्।

दुई हप्ताअघि गभर्निङ काउन्सिलले अग्रवाललाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। यसअनुसार हालका परिसंघका अध्यक्ष सतिशकुमार मोरपछि अग्रवाल अध्यक्ष हुनेछन्।

परिसंघका एक पदाधिकारीका अनुसार गभर्निङ काउन्सिल र परिसंघको कार्यसमितिका संयुक्त बैठकले दुई हप्ताअघि अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

परिसंघको वरिष्ठ उपाध्यक्षमा नियुक्त गर्ने अधिकार गभर्निङ काउन्सिलमा छ। गभर्निङ काउन्सिलले सहमतिको आधारमा अग्रवाललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

गभर्निङ काउन्सिल र अहिलेको पदाधिकारीको संयुक्त बैठकले सहमतिका आधारमा वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ।

गभर्निङ काउन्सिलका अध्यक्षमा परिसंघका संस्थापक तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी रहेका छन्।

गभर्निङ काउन्सिल र हालको कार्यसमितिले अग्रवाललाई वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय गरे पनि औपचारिक घोषणा भने गरिएको छैन।

‘विष्णुजीलाई वरिष्ठ उपाध्यक्ष बनाउन सहमति भइसकेको छ,’ ती पदाधिकारीले भने, ‘बाँकी प्रक्रिया पूरा गरेर एक महिनामा औपचारिक घोषणा गर्ने सहमति भएको छ।’

परिसंघमा सात जना उपाध्यक्ष छन्। परिसंघका उपाध्यक्षमा रहेकामध्ये एक जनालाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रवाधान छ।

वरिष्ठ उपाध्यक्षमा अनुज अग्रवालले पनि रुचि देखाएका थिए। अनुजले भने आफ्नो व्यस्तताका कारण आवश्यक समय दिन नसक्ने देखिएपछि विष्णुलाई अगाडि सारिएको थियो।

हाल परिसंघको उपाध्यक्षमा विष्णु अग्रवालसहित अनुज अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्ण प्रसाद अधिकारी, वीरन्द्रराज पाण्डे र सुलभ अग्रवाल रहेका छन्।

विष्णु अग्रवाल उद्योग परिसंघको स्थापनाकालदेखि नै रहँदै आएका छन्। उनी एमएडब्लु इन्टरप्राइजका प्रबन्धनिर्देशक हुन्।

एमएडब्लु इन्जरप्राइजअन्तर्गत यामाहा, जीप, स्कोडा, बीएण्डटी, जेसीबी, फियट, एयरक्राफ्ट इन्ड्रष्ट्रिज, एमएएनलगायतका ब्रान्ड रहेका छन्।

साथै, उनी एमएडब्लु इन्जिनियरिङ र एमएडब्लु इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक रहेका छन्। उनको कम्पनीले हेभी इक्विपमेन्टको व्यापार समेत गर्दै आएको छ।

हाल उनी नेपालका लागि चेक गणतन्त्रको अवैतनिक राजदूत पनि हुन्। यसैबीच, परिसंघको महानिर्देशक पदमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन्। यसअघि उनी नेपाल व्यवस्थापन संघमा आबद्ध थिए।

यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएको परिसंघले जनाएको छ।

परिसंघका अध्यक्ष मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गर्दै परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .