ad ad

कारोबार


७ अर्थमन्त्रीका ११ बजेट : १ दशकमा ३ गुणाले बढ्यो आकार, खर्च क्षमतामै प्रश्न

७ अर्थमन्त्रीका ११ बजेट : १ दशकमा ३ गुणाले बढ्यो आकार, खर्च क्षमतामै प्रश्न

नेपालखबर
जेठ १५, २०८१ मंगलबार ८:१८, काठमाडौँ

आज जेठ १५ अर्थात् संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट आउने दिन। नेपालमा ७३ वर्षअघि पहिलोपटक बजेट आएको थियो।

वि.सं. २००८ सालमा तत्कालीन मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्णशमशेरले पहिलोपटक ५ करोड २५ लाख ३१ हजार रुपैयाँको औपचारिक बजेट ल्याएका थिए। त्यसयता बजेट परम्परा निरन्तर रुपमा चलिरहेको छ भने बजेटको आकार पनि निकै ठूलो भइसकेको छ।

पछिल्लो १० वर्षमा मात्रै नेपालको बजेटको आकार ३.३८ गुणाले बढेको छ। एक दशकअघि तत्कालीन अर्थमन्त्री शंकर प्रसाद कोइरालाले ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएका थिए। त्यसको एक दशकपछि अर्थात् आर्थिक वर्ष २०८०/८१ मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए।  

यसरी पछिल्लो १० वर्षमा करिब १२ खर्ब ५४ अर्बले बजेटको आकार बढेको देखिएको हो। यो अवधिमा बजेटको आकार वृद्धि १ देखि २ खर्ब हाराहारीमा बढेको देखिन्छ। आव २०७०/७१ देखि आव २०७६/७७ सम्म बजेटको आकार लगातार बढेको छ। 

आव २०७६/७७ पछिको वर्षमा भने घटेको छ। त्यसपछिका निरन्तर २ वर्ष बजेटको आकार वृद्धि भएको छ। त्यसपछि अर्थात् चालू आर्थिक वर्षमा भने अघिल्लो वर्षको तुलनामा घटेर आएको छ। 

चालू, पुँजीगत र वित्तीय व्यवस्थापन खर्च विनियोजन पनि बजेटको आकारसँगै बढ्दै गएको देखिएको छ। २०७०/०७१ मा ५ खर्बको बजेट आउँदा चालू खर्च साढे ३ खर्ब विनियोजन भएको थियो भने पुँजीगत ८५ अर्बमात्र थियो। त्यस्तै वित्तीय व्यवस्थापन ७८ अर्बको मात्र थियो। 

तर एक दशकपछि अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा साढे १७ खर्बको बजेटमा चालू खर्च झण्डै साढे ११ खर्ब विनियोजन हुँदा पुँजीगत र वित्तीय व्यवस्थापन खर्च ३/३ खर्ब विनियोजन भएको छ। तुलनात्मक रुपमा चालू खर्चमा उल्लेख्य वृद्धि भए पनि विकास खर्च मानिने पुँजीगत खर्चमा भने सोहीअनुसार वृद्धि हुनसकेको छैन। 

हरेक वर्ष बजेट ठूलो, खर्च सानो 
पछिल्लो दश वर्षको बजेट र खर्चको तुलनात्मक अध्ययन गर्दा हरेक वर्ष खर्चको अवस्था कमजोर देखिन्छ। ठूलो आकारमा बजेट ल्याउने तर खर्च गर्न नसक्ने प्रवृत्तिले खर्च गर्ने सरकारको क्षमतामाथि नै प्रश्न उठाएको छ।

आर्थिक वर्ष २०७०/७१ को ५ खर्ब १७ अर्बको बजेटमा ४ खर्ब ३५ अर्ब ५ करोड २२ लाख रुपैयाँ यथार्थ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। त्यस्तै आव २०७१/०७२ मा ६ खर्ब १८ खर्बको बजेट आएकामा कुल खर्च ५ खर्ब ३१ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ, आव २०७२/०७३ मा ८ खर्ब १९ अर्बको बजेट आएकामा ६ खर्ब १ अर्ब १ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ। 

आव २०७३/०७४ मा १० खर्ब ४८ अर्बको बजेट आएकामा ८ खर्ब ३७ अर्ब २४ करोड ७८ लाख रुपैयाँ मात्र खर्च भएको थियो। यता आर्थिक वर्ष २०७४/०७५ मा १२ खर्ब ७८ अर्बको बजेट आएकामा १० खर्ब ८४ अर्ब ६८ करोड २१ लाख रुपैयाँ खर्च भएको थियो। त्यसैगरी २०७५/०७६ मा १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटमध्ये ११ खर्ब १० अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा १५ खर्ब ३२ अर्बको बजेटमध्ये १० खर्ब ९१ अर्ब १३ करोड ५२ लाख रुपैयाँ मात्रै खर्च भएको छ। 

आव ०७७/०७८ मा १४ खर्ब ७४ अर्बको बजेट आएकामा ११ खर्ब ९६ अर्ब ६७ करोड ६० लाख मात्र खर्च भएको छ। त्यसैगरी आव २०७८/०७९ मा १६ खर्ब ४७ अर्ब (प्रतिस्थापन बजेट १६ खर्ब ३२ अर्ब) मध्ये १३ खर्ब १० अर्ब ८ लाख मात्रै खर्च भएको छ। यता आव २०७९/८० मा १७ खर्ब ९३ अर्बको बजेटमा १४ खर्ब २१ अर्ब ३२ करोड ७० लाख रुपैयाँ मात्र खर्च भएको छ।

कुन वर्ष कसले ल्याए बजेट? 
पछिल्लो एक दशकमा सात अर्थमन्त्रीले बजेट ल्याएका छन्। यसअनुसार आर्थिक वर्ष २०७०/७१ मा खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्का अर्थमन्त्री शंकरप्रसाद कोइराला, २०७१/७२ र २०७२/७३ मा नेपाली कांग्रेसका डा. रामशरण महत, २०७३/७४ र २०७८/७९ मा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले बजेट ल्याएका थिए। 

आव २०७८/०७९ मा पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएका थिए। तर सर्वोच्च अदालतले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रोचोटि गरेको संसद् विघटन खारेज गरिदिएपछि सरकार ढलेर नयाँ सरकार गठन भयो।

नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटभन्दा १४ अर्ब ७४ करोड कम आकारको बजेट ल्याएका थिए। शर्माले ०७८ भदौमा कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँबराबरको प्रतिस्थापन बजेट प्रस्तुत गरेका थिए। 

त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, २०७५/७६, २०७६/७७ र २०७७/७८ मा नेकपा एमालेका डा. युवराज खतिवडा, २०७९/८० मा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा र चालू आर्थिक वर्ष २०८०/८१ मा नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले बजेट ल्याएका थिए। 

सात अर्थमन्त्रीका ११ बजेट, कुन कस्तो? 

बजेट २०७०/७१ (अर्थमन्त्री शंकर प्रसाद कोइराला) 
आकार : ५ खर्ब १७ अर्ब २४ करोड 
चालू : ३ खर्ब ५३ अर्ब ४२ करोड (६८.३३ प्रतिशत) 
पुँजीगत : ८५ अर्ब १० करोड (१६.४५ प्रतिशत) 
वित्तीय : ७८ अर्ब ७२ करोड (१५.२२ प्रतिशत) 
चालू वर्ष (०६९/७०) को संशोधित अनुमानको तुलनामा ३९.७५ प्रतिशतले बढी 

बजेट २०७१/७२ (अर्थमन्त्री डा. रामशरण महत) 
आकार : ६ खर्ब १८ अर्ब १० करोड 
चालू : ३ खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार (६५.५ प्रतिशत) 
पुँजीगत : १ खर्ब १६ अर्ब ७५ करोड ५० लाख ४२ हजार (१८.९ प्रतिशत) 
वित्तीय : १ खर्ब २ अर्ब ३९ करोड ३७ लाख ६३ हजार (१६.६ प्रतिशत) 
चालू वर्षको तुलनामा १९.५ प्रतिशतले बढी 

बजेट २०७२/७३ (अर्थमन्त्री डा. रामशरण महत) 
आकार : ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार
चालू : ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार (५९.१ प्रतिशत) 
पुँजीगत : २ खर्ब ८ अर्ब ८७ करोड ७२ लाख ४२ हजार (२५.५ प्रतिशत) 
वित्तीय : १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार (१५.४ प्रतिशत) 
चालू आवको तुलनामा ३२.६ प्रतिशतले बढी 

बजेट २०७३/७४ (अर्थमन्त्री विष्णुप्रसाद पौडेल) 
आकार : १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार
चालू : ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार (५८.९ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार (२९.७ प्रतिशत) 
वित्तीय : १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख (११.४ प्रतिशत) 
चालू वर्षको तुलनामा २८ प्रतिशतले बढी 

बजेट २०७४/७५ (अर्थमन्त्री कृष्णबहादुर महरा) 
आकार : १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार
चालू : ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार (६२.८ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार (२६.२ प्रतिशत) 
वित्तीय : १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ (२१.९ प्रतिशत) 
चालू वर्षको तुलनामा २१.९ प्रतिशतले बढी 

बजेट २०७५/७६ (अर्थमन्त्री डा. युवराज खतिवडा) 
आकार : १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
चालू : ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत) 
पुँजीगत : ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख (२३.९ प्रतिशत) 
वित्तीय : १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख (११.८ प्रतिशत) 

बजेट २०७६/७७ (अर्थमन्त्री डा युवराज खतिवडा) 
आकार : १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख 
चालू : ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत) 
पुँजीगत : ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) 
वित्तीय : १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) 

बजेट २०७७/७८ (अर्थमन्त्री डा युवराज खतिवडा) 
आकार : १४ खर्ब ७४ अर्ब ६४ करोड 
चालू : ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) 
वित्तीय : १ खर्ब ७२ अर्ब ७९ करोड (११.७ प्रतिशत) 

बजेट २०७८/७९ (अर्थमन्त्री विष्णुप्रसाद पौडेल) 
आकार : १६ खर्ब ४७ अर्ब ५७ करोड 
चालू : ६ खर्ब ७८ अर्ब ६१ करोड (४१.२ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ७४ अर्ब २६ करोड (२२.७ प्रतिशत) 
वित्तीय : २ खर्ब ७ अर्ब ९७ करोड (१२.६ प्रतिशत) 

बजेट २०७९/८० (अर्थमन्त्री जनार्दन शर्मा) 
आकार : १७ खर्ब ९३ अर्ब ८३ करोड 
चालू : ७ खर्ब ५३ अर्ब ४० करोड (४२ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत) 
वित्तीय : २ खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत) 

बजेट २०८०/८१ (अर्थमन्त्री डा प्रकाश शरण महत) 
आकार : १७ खर्ब ५१ अर्ब ३१ करोड 
चालू : ११ खर्ब ४१ अर्ब ७८ करोड (६५.२० प्रतिशत) 
पुँजीगत : ३ खर्ब २ अर्ब ७ करोड (१७.२५ प्रतिशत) 
वित्तीय : ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत) 
राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .