ad ad

कारोबार


इशान स्मार्ट सिटिको प्रस्तावलाई फेरि क्याबिनेटमा लैजाने सहरी विकास मन्त्रालयको तयारी

इशान स्मार्ट सिटिको प्रस्तावलाई फेरि क्याबिनेटमा लैजाने सहरी विकास मन्त्रालयको तयारी

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १६:५५, काठमाडौँ

सहरी विकास मन्त्रालयले काठमाडौंमा प्रस्तावित चार स्मार्ट सहर मध्ये इशान सहर निमार्णको प्रस्ताव पुनः क्याबिनेटमा लैजान गृहकार्य सुरु गरेको छ।

तीन वर्षअघि मन्त्रिपरिषदमा पेश भएको इशान नयाँ सहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरि नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो।

उक्त आयोजनालाई अघि बढाउने विषयमा आइतबार भएको बैठकमा सहरी विकासमन्त्री धनबहादुर बुढाले इशान नयाँ सहरसम्बन्धी प्रस्तावलाई एक महिनाभित्र भौतिक पूर्वाधार समितिमा पेश गर्न निर्देशन दिएका छन्।

गत साता इशान नयाँ सहर आयोजनाको प्रगति अनुगमन गर्न गएका मन्त्री बुढालाई स्थानीयवासी र जनप्रतिनिधीले लामो समयदेखि स्मार्ट सहरको लागि भन्दै जग्गा रोक्का गरेका कारण नागरिकले निकै कष्ट ब्यहोर्नुपरेको भन्दै जतिसक्दो छिटो आयोजना निर्माणको कामलाई अघि बढाइदिन आग्रह गरेका थिए।

२०७८ सालमा मन्त्रालयले पेश गरेको उक्त आयोजना निर्माण सम्बन्धी प्रस्ताव अर्थको सहमति नहुँदा मन्त्रिपरिषदबाट अघि बढ्न सकेको छैन।

मन्त्री बुढाले उक्त आयोजनामा भएको ढिलाइले सर्वसाधरण नागरिकले हैरानी खेप्नुपरेको भन्दै एक महिनाभित्रमा भौतिक पूर्वाधार समितिको बैठकबाट पारित गरेर मन्त्रिपरिषदमा पेश गर्ने गरी काम गर्न उपत्यका विकास प्राधिकरसहित सम्बद्ध कर्मचारीलाई निर्देशन समेत दिए।

मन्त्री बुढाले नयाँ सहर निर्माणसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो मन्त्रिपरिषदबाट पास गराउन पहल गर्ने भन्दै इशानबाटै नयाँ सहर निर्माणको थालनी गर्नुपर्नेमा जोड दिए।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले इशान नयाँ सहर निर्माणसम्बन्धी मौजुदा प्रस्तावलाई अघि बढाउन ठोस मोडालिटि बनाएर अघि बढ्ने बताए।

सचिव गेलालले आयोजनाको ब्लक प्लान बनाएर लागत मुल्याङकनसहित स्रोत व्यवस्थापनका लागि पहिले नै अर्थमन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे।

काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले इशान नयाँ सहर निर्माणका लागि विभिन्न विदेशी कम्पनीहरुले समेत चासो देखाएको भन्दै स्रोत व्यवस्थापनका लागि समस्या नहुने दाबी गरिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .