राज्यले बैंकको कोर क्यापिटल विना कारण राज्यले खोसेर लैजाँदा बैंकहरुको नाफा नकारात्मक हुन पुगेको बैंकर्सहरुले बताएका छन्।
बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै बैंकर्सहरुले यस्तो बताएका हुन्।
उनीहरुले सरकारले विना कारण अनावश्यक नीति लिएर बैंकहरुबाट ३१ अर्ब रुपैयाँ लिएकाले बैंकहरु दबाबमा रहेको बताए। उनीहरुले सरकारले लिने नीतिहरुको कारण पछिल्लो समय बैंकिङ क्षेत्रको समेत मनोबल कमजोर भएको र लगानी गर्ने आत्मबल समेत घटेको बताए।
बैंकर्सहरुले सरकारले बैंकिङ क्षेत्रलाई स्थायित्व र बलियो बनाउनको लागि सरकारले जथाभावी नीति अपनाउन नहुने बताए। उनीहरुले बैंकमा खर्बौं लगानीयोग्य रकम हुँदा पनि कर्जा विस्तार हुन नसक्नु निजी क्षेत्रको कमजोर मनोबलका कारण रहेको उल्लेख गरे।
उनीहरुले बैंकहरुले अर्बमा नाफा गर्ने भाष्य कायम भए पनि चालू आ.व.मा बैंकहरुको नाफा उच्च रुपमा गिरावट भएको भन्दै त्यसले बैंकहरु अप्ठ्यारो अवस्थामा रहेको बताए।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा बैंकहरुमा कर्जाको ब्याजदर घटेर एक महिनाअघिको एभरेज लेन्डिङ रेट १०.७८ रहेको बताए। उनले एभरेज लेन्डिङ रेट १०.७८ रेट प्रि–कोभिडभन्दा कम भएको दाबी गरे।
उनले एक वर्ष अघिसम्म बैंकको ब्याजदर बढी भएर व्यापार व्यवसाय चलायमान हुन सकेको भनिए पनि अहिले बैंकको ब्याजदर कम हुँदा पनि व्यापार व्यवसाय चलायमान हुन नसक्नु ठूलो प्रश्न खडा भएको बताए।
अध्यक्ष केसीले ब्याजदर एकल अंकमा आइसक्दा रियल स्टेट, सेयर मार्केटमा सुधार आउन नसक्नु निजी क्षेत्रको मनोबल कमजोर हुनु रहेको दाबी गरे। उनले पछिल्लो २० वर्षमा पहिलो पटक निजी क्षेत्रको आत्मबल कमजोर भएको बताए। उनले निजी क्षेत्रको आत्मविश्वास नभएपछि बैंकिङ क्षेत्रलाई असर गर्न थालेको उल्लेख गरे।
उनले अहिले बैंकको रिटर्न इक्विटी ८.८५ प्रतिशत रहेको बताए। उनले ६१ सय अर्ब जति निक्षेप लगानी गरेको र ५१ सय अर्ब कर्जा विस्तार भएको बताए। उनले चालू आ.व.को अन्त्यसम्ममा ६ प्रतिशतको मात्रै कर्जा बिस्तार हुने अपेक्षा रहेको बताए।
उनले ५ खर्बको लगानीयोग्य रकम बैंकहरुले लिएर बस्दा समेत कर्जा माग हुन नसकेको बताए। अध्यक्ष केसीले हरेक दिनको निक्षेपलाई राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजमा राख्न बैकहरुले दैनिक घाटा व्यहोर्नुपरिरहेको गुनासो गरे। उनले निजी क्षेत्रका मुद्दाहरु र सरकारले नीतिगत रुपमा गरेका कामले निजी क्षेत्र मात्रै नभएर बैंकिङ क्षेत्रको पनि मनोबल कमजोर भएको दाबी गरे।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरुको कर्जा विस्तार तल्लो तहसम्म अझै पुग्न नसकेको बताए। उनले सबै मानिसहरुमा वित्तीय पहुँच पुग्न नसकेको अवस्था बैंकहरुले स्वीकार गर्न सक्नुपर्ने बताए। उनले नेपालको जिडिपीमा वृद्धि हुन नसक्नुको दोष कर्जा बिस्तारलाई दिनु नहुने बताए। उनले कर्जा विस्तार १० प्रतिशतसम्म निरन्तर हुँदा पनि जीडिपी ग्रोथ ५ प्रतिशतमा सिमित रहेको बताए।
उनले जीडीपीभन्दा बैंकको कर्जाको विस्तार बढी भए पनि नेपाली सबैमा बैंकको कर्जा पहुँचमा नपुगेको उल्लेख गरे। उनले चालू आवमा १२ बैंकको नाफा नकारात्मक रहेको बताए। उनले सरकारले बैंकहरुको विना कारण कोर क्यापिटलको ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा समस्या भएको बताए। उनले बैंकहरुको कोर क्यापिटलबाट ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा नाफामा असर परेको बताए।
बज्रचार्यले सरकारले हुँदै नभएको नीति ल्याउँदा बैंकहरुलाई दबाब परेको उल्लेख गरे।
उनले अर्थतन्त्र चलायमान भएन मात्रै भनिरहेको तर के कारणले भयो भनेर विश्लेषण गर्न नसकेको बताए। उनले असारदेखि चैत मसान्तसम्म १० बिलियन प्रोभिजन गरिसकेको बताए।
Shares
प्रतिक्रिया