कारोबार


आज सुनकोसी–मरिण डाइभर्सनको ‘ब्रेक थ्रु’ हुँदै

आज सुनकोसी–मरिण डाइभर्सनको ‘ब्रेक थ्रु’ हुँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८१ बुधबार ७:१, काठमाडौँ

सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको आज (बुधबार) ‘ब्रेक थ्रु’ हुँदैछ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटर सुरुङ खनेर आज ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको आयोजनाले जनाएको छ। कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड हिजै सिन्धुलीमा गएर बसेका छन्।

आज बिहान करिब १० बजे विशेष कार्यक्रमकाबीच गुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने प्रचण्डको सचिवालयले जनाएको छ। 

कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म रहने सुनकोसी-मरिण डाइभर्सनको सुरुङ मार्ग १३ दशमलव तीन किलोमिटर लामो छ। त्यसमध्ये आज केही सेन्टीमिटर मात्रै खनेर ‘ब्रेक थ्रु’ गर्न लागिएको हो। 

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोसी र तामाकाेसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीबाट बाहिर निकालिएपछि सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ हुने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए। 

राष्ट्रिय गौरवको यो आयोजनको सुरुङ खन्ने कामको लागि २२ महिनाको लक्ष्य निर्धारण गरिएको थियो। 

लक्ष्यभन्दा ३ महिना २ दिनअगावै चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले सुरुङ निर्माण कार्य सकेपछि ‘ब्रेक थ्रु’ गर्न लागिएको हो । ०७९ असोज २८ बाट सुरुङ खन्न सुरु गरिएको थियो। यस अवधिमा एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ ।

०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरेर आयोजना निर्माणको थालनी गरिएको थियो।

उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण हुनेछ। बाँध निर्माणको काम निरन्तर चलिरहेको छ।

सुरुङमार्फत सुनकोसीको पानी सिन्धुलीको मरिणखोलामा प्रतिसेकेन्ड ६७ क्युसेकका दरले खसाल्ने योजना छ। जुन पानीबाट ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ।

सुनकोसी नदीमा बाँध बाँधेर सुनकोशीको पानी सिन्धुलीकाे मरिणखोलामा खसालेपछि त्यसलाई बागमती नदीमा मिसाएर मधेस प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ गर्ने लक्ष्य आयाेजनाको छ। 

हाल चालु अवस्थामा रहेको बागमती सिँचाइ आयोजनाकै पूर्वाधार प्रयोग गरेर मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा सिँचाई सुविधा पुर्याउने छ। 

यो आयोजनाबाट पाँच जिल्लाका एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने बताइएको छ। तर, यो आयोजना सञ्चालनमा आउँदा पनि सर्लाही, महोत्तरी, धनुषासहितका जिल्लाका चुरे भावर क्षेत्रमा सिँचाइको सम्भावना नहुने भन्दै त्यहाँका स्थानीयले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। 

सर्लाहीका सरोकारवालाले त पटक-पटक प्रधानमन्त्री, सिँचाइमन्त्री लगायतलाई भेटेर चुरे भावर क्षेत्रमा पनि याे आयाेजनाबाट सिँचाइ हुनसक्नेगरी वैकल्पिक उपायको खोजी गर्न आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .