बारा र पर्सामा क्षेत्रमा रहेका ठूला उद्योगहरु हिमालयन डिस्टिलरी, त्रिवेणी टेक्सटायल लगायत २० वटा उद्योगले प्रदुषण गरेको भन्दै संसदीय समितिमा उजुरी परेको छ। उद्योगबाट निस्कने हानिकारक तरल पदार्थ सिर्सिया नदीमा मिसावट गराउँदा सो क्षेत्रको सिंचाइ तथा पशुपंक्षीमा ठूलो असर परेको भन्दै पर्सा प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद प्रदिप यादवले संसदकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी गरेका हुन्।
उनको उजुरीका आधारमा संसदीय समितिले देवेन्द्र पौडेलको संयोजकत्वमा उपसमिति गठन समेत गरेको छ। उपसमितिले सो क्षेत्रको अध्ययन गरि रिर्पोट तयार पार्ने समितिका सभापति विमल प्रसाद श्रीवास्तवले जानकारी दिए। उनका अनुसार केही दिनमै अध्ययनको लागि टाेली फिल्डमा जानेछ।
के छ उजुरीमा?
सिर्सिया नदी आसपासमा धेरै उद्योग कलकारखाना छन्। नेपालको कानुन अनुसार उद्योगबाट निस्कने हानिकारक पदार्थ सोझै नदीमा मिसावट गर्न पाइँदैन। तर धेरै उद्योगहरुले विना प्रशोधन फोहोर मैला नदीमा मिसाएको सांसद यादवले बताए। उनका अनुसार दुषित पानीका कारण पशु चौपायहरु मरेका छन्। सिंचाई भएको बालिनाली डढेका छन्।
अहिले यो नदीको पानी सिंचाइमा प्रयोग नै गर्न सकिएको छैन। जसको कारण सो स्थानमा खेतिपाती गर्न सकिएको छैन। मानव बस्तीमा समेत रोग व्याधी फैलिएको छ। दुर्गन्ध फैलिएर मानव बस्ती नै हट्नु पर्ने स्थिति आएको छ।
उजुरीकर्ता यादबले नेपालखबरसँग कुरा गर्दै २० वटा भन्दा बढी उद्योगले गर्दा सो क्षेत्रमा बसोबास नै गर्न नसकिने अवस्था आएको बताए। उनले भने ‘म एक व्यक्तिले उद्योगको नाम लिएर यस्तो उस्तो गर्यो भन्दा आरोप मात्रै लगाएको देखिने भएकोले संसदीय समिति मार्फत छलफल होस् तथा निर्देशन जारी होस् भनेर उजुरी दिएको हुँ।’
Shares

प्रतिक्रिया